तनहुँको डुम्रेमा चौथो डुम्रे महोत्सव : कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन–मन्त्री खड्का

डुम्रे : तनहुँको डुम्रेमा चौथो डुम्रे साँस्कृतिक तथा व्यापार महोत्सव–२०८१ बुधबारबाट सञ्चालन गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईले भानु नगरपालिका–१ पुलचोकमा सञ्चालन गरेको महोत्सवको एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्घाटन गरेका छन् ।
महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । उनले एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए ।
“एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ”, उनले भने, “नेपाल विद्युत् प्राधिकरणलाई योगदान पु¥याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिन्छ ।”
नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याङ्कनमा शुन्य अङ्क किन भन्ने प्रश्नमा मन्त्री खड्काले भने, “विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अङ्क प्राप्त गर्न नसक्नुभएको हो ।”
यस्तै, उनले महोत्सवको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई समृद्ध बनाउने मुख्य बाटो नै ऊर्जा र जलस्रोत रहेको बताए । “वर्तमान सरकार समृद्धिको बाटोमा लागिसकेको छ, ऊर्जा र जलस्रोतको उपयोग गर्दै देशलाई दीर्घकालीन समृद्ध बनाउने लक्ष्यमा छौँ”, उनले भने, “दुई ठूला राजनीतिक दल मिलेर बनेको सरकार दीर्घकालीन समृद्धितर्फ लागिसकेको छ ।”
मन्त्री खड्काले सुस्ताएको व्यापारलाई चलायमान बनाउन व्यापारिक मेला, महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने चर्चा गरे । “ऊर्जा र जलस्रोतको माध्यमबाट मात्रै देशलाई दीर्घकालीन समृद्ध बनाउन सम्भव छ”, उनले भने, “समृद्धिको यात्राका लागि भरपर्दो र विश्वासिलो सरकार आवश्यकता थियो, अस्थिर सरकारका कारण व्यापारिक गतिविधि नै अलमलमा थियो, दुई ठूला राजनीतिक दलको समन्वयले देशलाई समृद्ध बनाउने छौँ ।”
डुम्रे बजार इकाईका अध्यक्ष एवं महोत्सव संयोजक हेमलाल भिकेको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा लगायतले सुस्ताएको व्यापारलाई चलायमान बनाउन यस्ता मेला, महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
“व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने नारा सहित आयोजित महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने महोत्सवका प्रवक्ता सुबोध अधिकारीले बताए ।
महोत्सवमा याम्पाको ताजा तरकारी र दुधका ताजा परिकारहरू खरिद बिक्री तथा दुधका परिकार र ताजा तरकारीका लागि कृषकहरूलाई आयोजकले १३ वटा स्टल निःशुल्क उपलब्ध गराएको महोत्सवका स्टल संयोजक राम जोशीले बताए ।
याम्पाको दूध र तरकारीको हब भएकाले यहाँको उत्पादनलाई बजारीकरण गर्न महोत्सवले सघाउने गरी व्यवस्थापन मिलाइएको संयोजक जोशीले बताए । उनकाअनुसार महोत्सवस्थलमा १५७ वटा स्टल निर्माण गरिएकोमा कृषि लाई १३, घरेलु उद्यमलाई ४ र बाख्रा प्रदर्शनीका लागि २ वटा गरी १९ वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker