हाम्रो विकासका बाधक पक्ष

  • सन्तोष अधिकारी

आगामी दिनलाई निराशाबादी र नकारात्मक चेतबाट मात्र नहेरौं । पक्कै पनि थोरै सम्हालियौ भने । बाटो पहिल्याउने प्रत्यन गर्‍यौ भने अवश्य एकपटक उज्यालो तर्फ उन्मुख हुने नै छौ । प्रकृतीको नियम नै हो बिनास पछि बिकास । अँध्यारो पछि उज्यालो । कुशासन पछि सुशासन त्याग पछि प्राप्ती । त्यसैले धैर्य गर्नुस जसरी पनि हामी अघि बढनुको अर्को विकल्पै छैन । मार्टिन लुथर किडको एउटा भनाई याद आयो ‘यदि तिमी उडन सक्दैनौ भने दौड, दौडन सक्दैनौ भने हिंड, हिंडन पनि सक्दैनौ भने घिस्र तर जसरी हुन्छ अघि चांही बढ ।’ अन्ततः अघि बढनु नै छ । विकास र समृद्धीको उत्कर्षमा पुगेका देशहरुको अवस्था पनि कुनैबेला हाम्रो जस्तै थियो । अहिले सुशासन, समानता र स्वतन्त्रताका नमुना मानिएका युरोप अमेरीकामा पनि हिजो हाम्रोमा जस्तै कुशासन, विकृती, विसंगती, भेदभाव, भ्रष्टाचारको डंगुर नै थियो । इतिहासले त्यही भन्छ । मात्र उनीहरुले यस्ता कालो बादललाई छिटो छिचोले र अघि बढे । हामीले अहिलेसम्म छिचोल्न नसकेको मात्रै हो । ती देश कसरी बिकासको गतिमा उडन सके ? तर हामी घिश्रन पनि किन सकिरहेका छैनौ त ? यसलाई यो आलेखमा दुइ पाटो बाट चर्चा गरौं ।

पहिलो पाटो : विकास र राजनीति

हाम्रा नजिकैका छिमेकी देश हुन थाइल्याण्ड र हडकड । त्यहाँ केही बर्षेखि विभिन्न राजनीतिक माग राखेर आन्दोलन र बिरोध चर्की रहेको छ । जनता राजनीतिक परिवर्तन र सुधारको माग राख्दै आन्दोलित छन । प्रदर्शनहरु गरिराखेका छन । त्यहाँ पनि धेरथोर तोडफोड, बिध्वांस भईरहेकै छ । तर यथार्थमा उनीहरुको त्यो राजनीतिक आन्दोलनले जनताको जीवनस्तर, प्रगती र परिवर्तनमा कुनै असर गरेको छैन । काम गर्ने मजदुर काम गरिराखेकै छन । पढाउने शिक्षक पढाइरहेकै छन । कृषी गर्ने कृषकले उत्पादन गरिराखेकै छन । उद्योग धन्दा कलकारखाना चलिराखेकै छन । नयाँ बन्नुपर्ने विद्यालय, अस्पताल, पुलपुलेसा बनिराखेकै छन । बार्षिक हुनुपर्ने तलव बृद्धी भईरहेकै छ । बढनु पर्ने जनता र देशको आयश्रोत बढि राखेकै छ । त्यसोत यस्ता प्रदर्शन, विरोध या सरकारको फेर बदलले जनताको जीवनस्तर उकास्ने कुरामा कुनै असर गरेको छैन । भौतिक विकासको गतिलाई रोकेको छैन । पात्रा को आयो भन्दा पनि संस्कृती के बनायौ भन्ने कुराले मात्र अर्थ राखेको छ । यसको मतलव राजनीतिक अस्थिरताको नाममा हाम्रोमा जस्तो बिकासको गति ती देशमा प्रभावित हुदैन र भएको छैन ।

अनि सुशासनका लागि नमुनाको रुपमा लिईने बेलायत र अष्ट्रियालाई पनि हेरौं । यी दुबै देशमा सुशासन छ, समृद्धी र बिकास त छदैछ । तर हामीले देखिरहेकै छौं । बेलायतको सदनमा युरोपियान युनियानमा रहने नरहने मुद्दाले मात्रै पटकपटक प्रधानमन्त्री परिबर्तन भई राखेका छन । अझै यहि मुद्दाले राजनीतिक विवाद लम्बिदो छ । अष्ट्रियाका चान्सलर सेबेष्टन क्रुज समय नपुग्दै पदबाट हटाइए । उनी पुन जनवरी २०२० मा चान्सलर भए । अर्थात असमयमा नै सरकार परिबर्तन भईरहयो । यसको मतलब हामीले समृद्ध र सुशासित सोचेका देशहरुमा पनि पात्राहरु हटने र फेरिने भई राख्छ । तर त्यसले ती देशको दिगो बिकास, सुशासन र जनताको जीवनस्तर उकास्ने कुरामा नकरात्मक असर गरेको हुँदैन ।

मेटी फ्रेडिक्सन उनको पार्टी सोसल डेमोक्रयाटसको एकल बहुमतबाट डेनमार्कको प्रधानमन्त्री बनेकी होइनन् । उनको क्याविनेट निर्माणमा सोसल पिपल्स पार्टी र सोसल लिवरल पार्टीको एलायन्स छ । जसलाई रेड ग्रिन एलायन्स भनिन्छ । फिनल्याण्डको नेतृत्व गरिराखेकी विश्वकै कान्छी प्रधानमन्त्री सान्ना मारिनाको पार्टीको पनि एकल बहुमत छैन । अर्थात नर्डिक देशका जनताले एउटै दललाई बहुमत त कमै मात्रमा दिएको इतिहास छ । धेरै लामो समयदेखि यी देशहरुमा एलायन्स बनाएर सरकार बनाउने संस्कार नै बनेको छ । तर बिरलै बाहेक हरेक सरकारले पूर्ण कार्यकाल काम गरेको दृष्टान्त छ । उल्लेखित देशहरुमा आन्दोलनको माझमा पनि विकास अघि बढिरहेकै छ । बहुमतको बाबजुद पनि स्थिर सरकार बनेकै छ । उसोभए उनीहरुकोमा किन सम्भव भयो ? हामी किन सकिरहेका छैनौं – यसको सिधा र सरल जवाफ हो ‘उनीहरु विधी र पद्धतीलाई पछ्याउछन ।’ राजनीति र विकासको नीतिलाई आईसोलेट गरेर हेर्छन। तर हामी अझै पनि राजनीति र विकासलाई फरक फरक चश्माले हेर्न अभ्यास्त भई सकेका छैनौं । आज दक्षिण एसियाका हाम्रा छिमेकी देशहरु बंगलादेश, श्रीलंका र भारतले पनि राजनीति र विकासलाई फरकफरक चश्माले हेर्न थालि सकेका छन । पाकिस्तान त्यो दिशा तर्फ गईरहेको छ । अफगानिस्तान अभ्यास गरिराखेको छ । विकास ब्यक्तिले नभै विधीले गर्ने वातवरण निर्माण गरौं । जुन आज हामीले समृद्ध देखेका देशले हिजै गर्न सके । राजनीतिक प्रतिस्पर्धा र संघर्ष राजनीतिक मुद्दामा सिमित होस । नकि बिकासका लागि ब्यवधान नबनोस । नागरीकको जीवनस्तर उन्नत बनाउन तगारो नवनोस । थाइल्याण्ड, बेलायत, डेनमार्कको यो यथार्थतालाई मनन गरौं ।

अर्को तथ्यलाई पनि हेरौ । द ग्लोवल इकोनमीले सन २०१९ मा विश्वका १९५ देशको राजनीतिक स्थिरताको स्तरीकरण गरेको छ । २.५ अंक ल्याउने देशलाई राजनीतिक स्थिरता बलियो भएको मानिएको छ । जुन अंक कुनै पनि देशले प्राप्त गरेका छैन्न । त्यस्तै -२.५ ल्याउने देशलाई राजनीतिक समस्याबाट ग्रस्त मानिएको छ । जुन अंक भन्दा तल पनि धेरै देशहरु छन । सोमालिया, लिविया, अफगानिस्तान, इराक, यमन, र सिरिया यस्ता देशमा समेटिएका छन । यो तथ्यांकमा नेपाल राजनीतिक स्थिरताको हकमा इण्डोनेसिया, रसिया, थाइल्याण्ड, ब्राजिल, छिमेकी देश भारत भन्दा धेरै अगाडी छ । नेपालले -०.४७ अंक प्राप्त गरेको छ भने भारतले -०.७० पाएको छ । नेपालको अवस्था बहराइन इजरायल, इजिप्ट, टर्की भन्दा पनि अगाडी छ । अब हामी आफै कल्पना गरौं राजनीतिक अस्थिरताको बिचमा पनि इण्डोनेसिया सन २०३० सम्म विश्वको शक्तिशाली राष्ट्र भित्र पर्ने प्रक्षेपण गरिएको छ । बहराइन, इजरायल जस्ता देशले हजारौं नेपालीलाई काम दिईरहेका छन । हामीले भन्ने गरेको राजनीतिक अस्थिरताले ती देशको समृद्धिमा कुनै असर गरेको छैन । भारत, रसिया विश्वका शक्तिशाली हुन तर पनि स्थिर राजनीति भएका देशमा पर्दैनन् । नेपाल भन्दा राजनीतिक अवस्था अस्थिर मानिएका अधिकांश देशका जनताको जीवनस्तर नेपालीको भन्दा धेरै माथी छ । समानता र सुशासनको स्तर उच्च छ । अनि विकासको गति धेरै अगाडी छ । हो तथ्यले पनि पुष्टि गर्छ कि उनीहले समृद्धी र विकासको नीतिमा राजनीतिलाई घुस्न दिएका छैन्न । जुन हामी गरी राखेका छैनौं । विकास कुनै दल विशेषले गर्ने कुरा भन्दा पनि सिस्टमले गर्छ भन्ने मान्यताको बिकास गरौं । राजनीतिक खिचतानीको बाबजुद पनि ती देशमा जस्तै हाम्रोमा पनि विकास सम्भव होस।

सोही रिपोर्टमा उरुग्वे, डोमिनीका, फिजी, लाओस, बुल्गेरिया, क्युवा लगायतका देशलाई राजनीतिक स्थिरताको दृष्टिले अगाडी मानिएको छ । तर यी देशको आर्थिक अवस्था जनताको जीवनस्तर र सुशासनको स्तर हेर्ने हो भने सन्तोषजनक छैन । राजनीतिक स्थिरता र स्थिर सरकार त एउटा तानाशाही ब्यवस्थामा पनि हुनसक्छ । तसर्थ आधुनिक विश्वमा विकास बिधी र पद्धतीबाट निर्देशित हुनुपर्छ । ब्याक्ति र ब्यवस्था भनेको गौण पक्ष हो ।

दोश्रो पाटो : जनताको सोच

लोकतन्त्र र सुशासनको अभ्यासमा भर्खर बामे र्सर्दै गरेका हाम्रो जस्तो देशमा नागरीकको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । आज हामीले समृद्ध देखेका देश समृद्ध हुनुमा नेता अब्बल भएर मात्र होईन उत्तिकै जनता पनि इमान्दार भएर संभव भएको हो । उसो भए इमान्दारीताको अभ्यासमा कतै हामी चुकिरहेका त छैनौ । यसका पनि केहि नजिर हेरौं । करिव ३ करोड जनसंख्या रहेको नेपालमा राजनीतिमा कति संलग्न छन होला ? अनि राजनीति गर्नेले मात्र राजनीति गर्छ कि सबैले राजनीति गर्छन ? हाम्रोमा यो जटिल प्रश्न बनेर खडा भएको छ । कतिपय दलमा त कार्यकर्ता भन्दा नेता धेरै छन । विकसित देशका नागरीकमा यो समस्या देखिंदैन । हाम्रोमा जस्तो घरघर र टोलपिच्छे दलका नेता कार्यकर्ता भेटिदैन्न । अधिकांशका लागि आ-आफनो पेशा ब्यवसाय नै पहिलो प्रथामिकतामा पर्छ । अब हामीले पनि राजनीति गर्नेलाई गर्न दिऔं, अरुले बुझौं । गलत गरे मत मार्फ दण्ड दिऔं । राम्रो गरे प्रोत्साहन गरौं । सबैले राजनीति गरेर समय बर्बाद नगरौं ।

दोश्रो, मानौ एसइइ परिक्षामा कम विद्यार्थी उत्तीर्ण भए । किसानको वाली राम्रो भएन । बारी बाँझो राखेर खाद्यन्न बेसाउने बानी पर्‍यो । हुँदा खाँदाको अधिकृतको सम्मानित पेशा छोडेर विदेश भासियौं । अमुक ब्याक्तिले ब्यापारमा घाटा बेहोर्‍यो । प्राकृतिक प्रकोपका कारणले पुल बगायो । तर हामी कतिपय अवस्थामा यस्ता विषयलाई पनि राजनीतिसंग जोडेर बिरोध गरिरहेका हुन्छौं। राजनीतिले गर्दा नै सबै बिग्रियो भनि राख्दा राजनीति बाहेकका सबै कुरालाई सुधार्न आ-आफनो ठाउँबाट प्रयत्न पनि गर्ने कि । यो कोणबाट पनि सोचौं । संसार बदल्नु छ भने सुरुवात आफैबाट किन नगर्ने ।

अन्त्यमा, प्रतिस्पर्धामा कमजोर ठहरिंदा पनि हामी कतिले आफना र आफन्तलाई जागिर लगाउन नेतालाई दबाब दिने गरेका छौं ? एकपटक म म भनेर सम्झौ त । स्वदेश तथा विदेशमा छोराछोरीको छात्रबृत्तीका लागि कति मन्त्री र सांसदलाई अर्को पटक पनि भोट चाहिएला नि भन्दै घुर्क्याउने गरेका छौं ? ठण्डा दिमागले सोचौ त । निजामती सेवामा सरुवा बढुवाका निम्ति हामी कसरी नेतालाई प्रलोभनमा पार्ने गर्छौ ? एकपटक निष्पक्ष भएर घोत्लिनुस त । अनि विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा उपकुलपति र रेक्टर जस्ता पद प्राप्त गर्न हामी कति चाकाडी गर्ने गर्र्छौ ? यस्ता धेरै क्षेत्र छन जहाँ हामी राजनीतिक आस्था र पावारको आधारमा नियुक्ति चाहन्छौं । अब भन्नैपर्छ नेताले मात्रै बिगारे भनिराख्दा कतै हामीले उनीहरुलाई बिग्रन बाध्य त पारिराखेका छैनौ । हाम्रा गलत दबाव र प्रभावले अर्को योग्य पात्राले अवसरबाट बञ्चित हुन त परेको छैन । तर्सथ सोच बदलौं, गलत संस्कार बदलौं । आफु बदलिएर अरुलाई बदलिन प्रेरित गरौं । फेरी पनि मार्टिन लुथर किडले भने जस्तै जसरी पनि अगाडी बढनु बाहेक अर्को विकल्प छंदैछैन । जसका लागि ती देशहरुले जस्तै विधीलाई बलियो बनाऔं । अनि हामीले प्रवृत्ती पनि परिवर्तन गरौं ।

लेखक : स्नातकोत्तर समाजशास्त्र (त्रि वि), डेमन्फोन्ट युनिभर्सिटी (डेनमार्क) हाल : युरोप

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker