एनप्याब्सनले दमौलीमा दुईदिने खेलकुद महोत्सव गर्ने

दमौली : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) तनहुँले खेलकुद महोत्सव गर्ने एको छ । एनप्याब्सनले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी यही मंसिर २५ र २६ गते दमौलीमा खेलकुद महोत्सव गर्ने जनाएको हो ।
खेलकुद महोत्सव सम्बन्धी सबै जानकारी सार्वजनिक गर्दै एनप्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालले महात्सवको तयारी अन्तिम चरणमा पुगेको बताए । प्रतियोगितामा करिब तीन लाख ५० हजारदेखि चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महोत्सवको मुख्य उद्देश्यका बारेमा केन्द्रीय उपाध्यक्ष तिलकबहादुर चौहानले जानकारी गराउँदै भने, ‘निजी विद्यालयले केवल किताबी ज्ञान मात्र होइन, खेलकुद र अनुशासनमार्फत विद्यार्थीको चौतर्फी विकास गर्नुपर्छ, यही सोचका साथ खेल महोत्सव गर्दै आएको छ ।’
उक्त प्रतियोगितामा २६ स्वर्ण पदकको व्यवस्था गरिएको छ भने लगातार तीन पटक विजेता बनेका विद्यालयलाई शिल्ड प्रदान गरिनेछ । प्रतियोगितामा २८ विद्यालयका विद्यार्थीहरू सहभागी हुने बताइएको छ ।
एनप्याब्सनका उपाध्यक्ष प्रकाश खड्का, विश्वास केसी र सचिव ऋषिकेश केसीले प्रतियोगितालाई निरन्तरता दिँदै विद्यार्थीहरूको अतिरिक्त विकासका लागि भावी वर्षहरूमा पनि यही कार्यक्रम जारी राखिने बताए ।
प्रतियोगितामा उत्कृष्ट सहभागी संख्या, झाँकी र अनुशासन देखाएका विद्यालयलाई दुई–दुई हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिनेछ । उद्घघाटन समारोहमा एनप्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा सहभागि हुने बताइएको छ ।










