तनहुँको भिमादमा ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

तनहुँमा ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । सर्वाधिक राशिको फुटबल प्रतियोगिता आयोजना हुँदै आए पनि जिल्लामा भलिबलका खेल निकै कम मात्रामा हुने गरेको छ । तनहुँको भिमादमा वडा मिश्रित खुला भलिबल प्रतियोगिता हुन लागेको हो । तेस्रो भिमाद महोत्सवको अवसर पारेर भलिबल प्रतियोगिता आयोजना गरिएको खेलकुद संयोजक उज्ज्वल खनालले जानकारी दिनुभयो ।
यही माघ १९ देखि भिमाद रङ्गशालामा तेस्रो भिमाद महोत्सव सुरु भएको छ । भलिबल प्रतियोगिता भने माघ २३ गतेबाट सुरु हुनेछ । भलिबलमा प्रथम हुनेलाई नगद रु एक लाख ५५ हजार पाँच सय ५५ र दोस्रो हुनेलाई रु ७५ हजार पाँच सय ५५ नगद प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, लिफ्टर र स्पाइकरलाई पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
खेलाडी वडास्तरी हुनुपर्ने र बाहिरी खेलाडी बढीमा तीन जना समावेश गर्न पाइने नियम बनाइएको छ । खेलमा प्रोटेस्ट नियम लागू हुने र प्रोटेस्ट शुल्क रु तीन हजार लाग्ने जनाइएको छ । महोत्सव माघ २९ गतेसम्म सञ्चालन हुनेछ । भिमाद नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष हस्तबहादुर खड्काले महोत्सवले यस क्षेत्रको आर्थिक गतिविधि बढाउन, औद्योगिक उत्पादन तथा हस्तकलाका सामानको बजार प्रवद्र्धन, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । महोत्सवमा एक सय ८० ‘स्टल’ राखिएको छ ।
महोत्सवमा स्थानीय कला र संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि सांस्कृतिक कार्यक्रम तथा स्थानीय कृषि उपज प्रदर्शनी गरिएको आयोजकले जनाएको छ । महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने र रु पाँच करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट बचेको रकम भिमाद बजार क्षेत्रमा सिसी क्यामरा जडानमा खर्च गरिने महोत्सवका प्रवक्ता गोपाल पराजुलीले जानकारी दिनुभयो ।










