तनहुँ–१ मा नेकपाका उम्मेदवार ढकालको चुनाव प्रचारका लागि ७५१ सदस्यीय समिति गठन

तनहुँ : आगामि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट तनहुँ क्षेत्र नं. १ का उम्मेदवार विद्या ढकालको चुनाव प्रचार अभियानलाई प्रभावकारी बनाउन भानु नगरपालिका स्तरीय ७५१ सदस्यीय प्रचार समिति गठन गरिएको छ ।
सिताराम अधिकारीको अध्यक्षतामा गठन गरिएको उक्त समितिले भानु नगरपालिका भित्र निर्वाचन प्रचार–प्रसारलाई व्यवस्थित, सशक्त र प्रभावकारी बनाउने उद्देश्य लिएको नेपाली कम्युनिष्ट पार्टीका नेता हेमराज लामिछाने ‘क्षितिज’ले बताए ।
प्रचार समिति गठन कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता हरीबहादुर चुमान, प्रतिनिधि सभा सदस्य उम्मेदवार विद्या ढकाल, पार्टी नेता गीत शाही, ओमकुमारी पौडेललगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ढकाल तनहुँ क्षेत्र नं. १ मा लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका छन् । स्वच्छ छवि, बौद्धिक व्यक्तित्व तथा स्थानीय भूगोल र जनजीवनसँग नजिकबाट काम गरेको अनुभवका कारण उनको जनतामाझ लोकप्रिय नेताका रूपमा परिचित रहेको पार्टीले जनाएको छ ।










