भानुका विद्यालयले दिवा खाजाका लागि बढी निकासा भएको रकम फिर्ता गरे

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाका विद्यालयहरुलाई नगरपालिकाले दिवा खाजा कार्यक्रमका लागि एकमुष्ठ निकासा गरेको रकम मध्य खर्च भई बढी भएको रकम विद्यालयहरुले फिर्ता गरेका छन्। नगरपालिकाले दिवा खाजा कार्यक्रममा विद्यार्थीको हाजिरी भन्दा बढि रकम निकासा गरेको भन्दै महालेखापरीक्षाको ५९औं वाषिर्क प्रतिवेदन, २०७९ मा बेरुजु देखाएको थियो ।

शिक्षा विकास तथा मानवश्रोत विकास केन्द्रको कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७/०७८ मा समुदायिक विद्यालयका बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा ५७ विद्यालयका ३ हजार ६६२ विद्यार्थीका लागि माघदेखि बैशाख महिनासम्म ९९ दिनको १५ रुपैयाँका दरले ५४ लाख ३८ हजार दिवा खाजा रकम एकमुष्ठ निकासा दिएको महालेखापरीक्षाको ५९औं वाषिर्क प्रतिवेदन, २०७९ मा उल्लेख गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले विद्यालयको प्रमाणित हाजिरी रुजू गर्दा ४८ विद्यालयमा विद्यार्थीको हाजिरीभन्दा १७ लाख ३४ हजार रुपैयाँ बढी भुक्तानी भएकोले उक्त रकम फिर्ता गरी सञ्चित कोषमा दाखिला गर्नुपर्ने भनेको छ ।

यस्तै, बढि निकासा भएको रकम सबै विद्यालयहरुले गत आर्थिक वर्ष २०७८/०७९ मा फिर्ता गरिसकेको भानु नगरपालिकाका शिक्षा अधिकारी ध्रुव राज पौडेलले बताए । उनले भने, ‘गत आर्थिक वर्षको बेरूजु रकम सबै असुल भैसकेको छ । पुरानो बेरूजु फर्छ्यौट नगरिकन नयाँ निकासा नदिने परिपाटीले यो शीर्षकमा कुनै पनि विद्यालयलाई उपलब्ध गराएको रकमको बेरूजु छैन ।’

आर्थिक वर्ष २०७७/०७८ मा कोरोना संक्रमण त्रासका कारण विद्यालय बन्द भएका र विद्यालय खुल्ला भएपछि नगरपालिकाले माघदेखि वैशाख महिनासम्मको करिब ९० दिनका लागि प्रति विद्यार्थी १५ रुपैयाँका दरले एकैपटक रकम निकासा गरेको भानु-५ मैवल स्थित सरस्वती सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक होमनारायण श्रेष्ठले बताए ।

‘नगरपालिकाले ९० दिनका लागि एकै पटक रकम निकासा गरेको थियो । कोरोना संक्रमण त्रासका कारण अनुमान गरेको सबैदिन विद्यालय खुल्न नसकेको हुँदा रकम बढि हुन आएको थियो’, प्रधानाध्यापक श्रेष्ठले भने, ‘शिक्षकहरुले न सबै दिनको रकम मागेका थिए न खर्च नै गरेका थिए, जति दिन विद्यालय खुल्यो त्यति दिनको हिसाव गरी बाँकी रहेको रकम हामीले नगरपालिकालाई फिर्ता गरिसकेका छौं ।’

महालेखाले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्मको प्रतिवेदन सार्वजनिक गरेको र विद्यालयहरुले आर्थिक वर्ष २०७८/०७९ मा रकम फिर्ता गरेको हुँदा प्रतिवदेनमा बेरुजु देखिएको भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker