बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार

दमौली : भानु नगरपालिका–९, काउरेटारमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार भएको छ । भानु नगरपालिकाले उक्त रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको हो ।

खेलकुद पूर्वाधार विकासतर्फ भानु नगरपालिकाले चालेको यस कदमलाई नगरकै मात्र नभई सम्पूर्ण तनहुँ जिल्लाको गौरवको आयोजनाका रूपमा हेरिएको छ । मस्यौदामा सरोकारवाला निकाय, प्राविधिक तथा जनप्रतिनिधिबाट प्राप्त सुझाव समेटी एक साताभित्र आवश्यक परिमार्जनसहित अन्तिम रूप दिइने नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । अन्तिम डिपिआर तयार भएपछि टेण्डर प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पठाइने उहाँले बताउनुभयो ।

यस परियोजनालाई नगर गौरवको आयोजनाका रूपमा अघि बढाउन लागिएको हो । दीर्घकालीन प्रभाव र क्षेत्रीय महत्वलाई ध्यानमा राख्दै यसलाई बहुवर्षीय योजनाका रूपमा सूचीकृत गर्न नेपाल सरकार, अर्थ मन्त्रालय समक्ष औपचारिक अनुरोधसमेत गरिएको छ । प्रस्तावित डिपीआरअनुसार यस परियोजनाअन्तर्गत करिब रु १५ करोड बराबरका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।

काउरेटार कभर्डहल निर्माण शीर्षकमा चालु आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घीय सरकारबाट रु तीन करोड विनियोजन भएको छ । करिब ४० रोपनी जग्गामा फैलिने यो परियोजनाको प्रतिवेदन फोरजी इञ्जिनियरिङ सोलुसन प्रालिले तयार गरेको हो । प्रस्तावित रङ्गशालामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डअनुसारका विभिन्न संरचना निर्माण गर्ने योजना छ । यसअन्तर्गत भलिबल, कबड्डी, बास्केटबल, टेबल टेनिस, व्याडमिन्टन, जुडो, कराते, उसु र बक्सिङका लागि छुट्टाछुट्टै कोर्ट रहनेछन् । साथै आधुनिक फुटबल मैदान निर्माण गर्ने लक्ष्य राखिएको छ ।

खेलकुद गतिविधिलाई जीवन्त बनाउन दर्शकको सुविधा विशेष रूपमा समेटिएको छ । कभर्डहलभित्र ३०० जना र एक हजार २०० जना बस्न मिल्ने प्याराफिट निर्माण गरिने प्रस्ताव छ । खेलाडी, प्रशिक्षक र दर्शकको सहजताका लागि शौचालय, खानेपानी सुविधा, प्रशासकीय भवन, मञ्च (स्टेज), मूल बाटोदेखि खेलमैदानसम्म पुग्ने पहुँच मार्ग तथा पक्की कम्पाउण्डसमेत निर्माण गरिनेछ ।

नगरप्रमुख त्रिपाठीले भन्नुभयो, “यो आयोजना सम्पन्न भएपछि काउरेटार क्षेत्र खेलकुद पर्यटन हवका रूपमा विकास हुने अपेक्षा गरिएको छ । यस प्रकारको आधुनिक खेलकुद पूर्वाधारले तनहुँ मात्र होइन, लमजुङ र गोरखा जिल्लालाई सेवा पु¥याउनेछ ।” आयोजना सम्पन्न गर्न तथा यसलाई बहुवर्षीय आयोजनाका रूपमा स्थापित गर्न सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्ने त्रिपाठीले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker