व्यास नगर कार्यपालिकाको बैठक : गरिब परिवार पहिचान, भूमि बैंक स्थापना गर्ने निर्णय

दमौली : तनहुँको व्यास नगरपालिकाले नगरभित्र रहेका गरिब परिवारको पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउने भएको छ ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको कार्यपालिका बैठकले गरिब परिवारको पहिचान तथा परिचयपत्र वितरण कार्यका लागि वडा तहसम्म गुनासो सुनुवाइ समिति गठन गरी आएका गुनासोहरू सम्बोधन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
यस्तै, नगरपालिकाले दोस्रो चौमासिक अवधिसम्म सम्पादन भएका सेवा तथा कार्यक्रमबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको बैठकले यसका लागि तोकिएको मितिमा वडा कार्यालयमार्फत कार्यक्रम आयोजना गर्ने भएको छ ।
बैठकले बाँकी रहेका जग्गाको उपयोगका लागि ‘भूमि बैंक’ स्थापना सम्बन्धी कार्यविधि निर्माण गर्ने निर्णय पनि गरेको छ। यसले नगरभित्र रहेका खाली जमिनको व्यवस्थित उपयोगमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
त्यसैगरी, नगर प्रहरी सञ्चालन कार्यविधि संशोधन गर्ने, वित्तीय साक्षरता तथा आवधिक योजनासम्बन्धी कार्यक्रमहरूलाई वडा स्तरसम्म विस्तार गर्ने लगायतका निर्णयहरू पनि गरिएको छ।
नगरपालिकाको सुशासन, सेवा प्रवाह र विकास व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता गर्ने निर्णय समेत बैठकले गरेको छ । नगरपालिकाले यी निर्णयहरू कार्यान्वयनमार्फत नागरिकलाई सहज सेवा प्रवाह र दिगो विकास सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ ।
आगामि चैत्र ३० गते नगरपालिकाको ३४औं स्थापना दिवसको अवसरमा आयोजना गरिने कार्यक्रम तथा विविध समितिहरूको तयारी अवस्थाबारे समेत समीक्षा गरेको बैठकले आर्थिक पक्षतर्फ नगरपालिकाको चालु आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो ।
कुल आम्दानीमध्ये संघ, प्रदेश र आन्तरिक स्रोतबाट प्राप्त रकमको अवस्था तथा खर्चको प्रगति विवरणमाथि समीक्षा गर्दै पूँजीगत खर्च बढाउन र योजनाहरूको भौतिक प्रगति तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।










