सन्दर्भ बाघ दिवस : बाघ संरक्षणमा उत्साहजनक उपलब्धि, मानव–बाघ द्वन्द्व भने भयावह

भीष्मराज ओझा

हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउन लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज वन परिसर बबरमहलमा बाघ संरक्षणसम्बन्धी होर्डिङ बोर्ड राख्ने, प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा बाघ संवाद कार्यक्रम गर्ने, बाघको बासस्थान र वन्यजन्तुमैत्री पूर्वाधार निर्माणसम्बन्धीलगायत कार्यक्रम गर्न लागेको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो । यसबाहेक स्थानीयस्तरमा पनि विभिन्न कार्यक्रम गरिन लागेको छ ।

पाटेबाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पु¥याउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको छ । मन्त्रालयले पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ मा गरेको थियो । उक्त गणनाअनुुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ । चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।

पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरिएको थियो । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१ र सन् २०१३ मा १९८ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क छ ।

विश्वको सन्दर्भमा सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई बाघको सङ्ख्या रहेको थियो । इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेशिया, म्यान्मा, रसिया र लाओसमा बाघ पाइन्छ । विश्वभर बाघको सङ्ख्या भने तीन हजार ८९० रहेको छ ।

नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिलोमिटर क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किलोमिटर (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको विभागको तथ्याङ्क छ ।

मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल गरेकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२५० वयस्क बाघ) पु¥याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ ।

गत वर्ष बाघको आक्रमणबाट डेढ दर्जन व्यक्तिको मृत्यु

पछिल्लो समय वन्यजन्तु मैत्री पूर्वाधार निर्माण नहुँदा बासस्थानमा आएको सङ्कुचनका कारण र सङ्ख्यामा भएको वृद्धिले आहाराको खोजीमा बाघ मानवबस्तीसम्म पुग्दा मानवसँगको बढ्दो द्वन्द्व बाघ संरक्षणको प्रमुख चुनौती बनेको छ।

गत आर्थिक वर्षमा मात्र बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा बाघको आक्रमणमा परी करिब एक दर्जन व्यक्तिको मृत्यु भएको विभागका सूचना अधिकारी आचार्यले बताउनुभयो । त्यस्तै चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको आक्रमणबाट पाँच जनाको निधन भएको थियो भने पर्सा राष्ट्रिय निकुञ्ज तथा बर्दियामा सवारी दुर्घटनाबाट दुई बाघ मरेको विभागको तथ्याङ्क छ ।

मन्त्रालयले वन्यजन्तुबाट हुने क्षतिमा राहत दिन राहत तथा क्षतिपूर्तिसम्बन्धी निर्देशिका जारी गरी वन्यजन्तुबाट निधन भएका प्रतिव्यक्तिका परिवारलाई रु १० लाख, घाइतेको उपचार तथा बालीनाली र अन्य भौैतिक क्षतिमा समेत राहत दिने गरेको छ । यसका साथै बाघको सङ्ख्याअनुसार बासस्थानको व्यवस्थापनमा कठिनाइ, पहाडतिर (इलाम र डडेल्धुरा) पनि बाघ देखिन थालेपछि सो क्षेत्रमा संरक्षित क्षेत्र नभएकाले व्यवस्थापनमा कठिनाइ, मानव बस्तीमा बाघ पस्दा मानवीय क्षति र घाइते बाघको उद्धारमा कठिनाइ, तराईमा सडक, सिँचाइ, रेलमार्गजस्ता लामो प्रकृतिका निर्माणले बासस्थानलाई खण्डीकरण गर्ने गरेको, बाघको चोरी शिकारीलगायत पनि प्रमुख चुनौतीका रुपमा देखा परेका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker