म्याग्दे गाउँपालिकाको नीति : सगरमाथा आरोहण गर्नेलाई पाँच लाख पुरस्कार

म्याग्दे : म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई प्रोत्साहन स्वरुप रु पाँच लाख दिने घोषणा गरेको छ । गाउँपालिकाको झण्डासहित सगरमाथा आरोहण गर्ने म्याग्देका बासिन्दालाई रु पाँच लाख प्रोत्साहन स्वरुप सहयोग गर्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्देको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले म्याग्दे गाउँपालिकाको लोगो अङ्कित झण्डासहित सगरमाथा आरोहण गर्ने व्यक्तिलाई रु पाँच लाख प्रोत्साहन अनुदान प्रदान गरिने बताए । नेपालको गौरवको प्रतिक सगरमाथासँग गाउँपालिकाको नाम जोड्ने तथा साहसिक पर्यटन गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको उनले बताए ।
यस्तै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । दूध उत्पादनमा कृषकलाई थप उत्साहित बनाउन प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ । यस कार्यक्रमका लागि गाउँपालिकाले रु ५० लाख बजेट विनियोजन गरेको छ ।
सामाजिक सद्भाव, समानता र समावेशी समाज निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने दम्पत्तिलाई रु ५० हजार प्रोत्साहन रकम उपलब्ध गराइने व्यवस्था गरिएको उनले जानकारी दिए । समाजमा अझै विद्यमान जातीय विभेद् अन्त्य गर्न तथा सामाजिक एकता सुदृढ बनाउन यो कार्यक्रम प्रभावकारी हुने उनको विश्वास छ ।
विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक अवस्थाको व्यवस्थापनलाई सुदृढ बनाउन गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा रु ४० लाख बजेट छुट्याएको छ । बाढी, पहिरो, आगलागी तथा अन्य प्राकृतिक तथा मानवीय विपद्का घटनामा तत्काल राहत, उद्धार र पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन उक्त रकम परिचालन गरिने अध्यक्ष श्रेष्ठले बताए ।
पर्यटन क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको महत्त्वपूर्ण आधारका रूपमा लिँदै मानुङ, गैह्रास्वाँरा, हर्कपुरलगायत पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिए । ती क्षेत्रमा पदमार्ग, विश्रामस्थल, दृश्यावलोकन स्थल, सूचना केन्द्र तथा अन्य आवश्यक संरचना निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ ।
स्थानीय उत्पादनको संरक्षण, बजारीकरण तथा उपभोगलाई बढावा दिन ‘बसे पनि सहर, गाउँकै खाने रहर’ कार्यक्रम सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए । यस कार्यक्रममार्फत गाउँमा उत्पादन भएका कृषि उपज, दुग्धजन्य पदार्थ, खाद्यान्न तथा परम्परागत खाद्य सामग्रीको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
गाउँपालिकाले कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, सामाजिक समावेशिता, विपद् व्यवस्थापन र स्थानीय उत्पादनको संरक्षणलाई एकीकृत रूपमा अघि बढाउँदै दिगो विकास र समृद्ध म्याग्दे निर्माणको लक्ष्य लिएको जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker