तनहुँका सात पत्रकार पुरस्कृत
पत्रकारले राज्यका तीन अंगले गरेका गल्तीमा औंला उठाउनुपर्छ : प्रदेश प्रमुख गुरुङ

भञ्ज्याङ समाचारदाता/दमौली
नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात जना पत्रकारलाई पुरस्कृत गरेको छ । दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत गरे।
प्रदेश प्रमुख गुरुङले पत्रकारलाई पुरस्कृत गर्दै पत्रकार राज्यका तीन अंगले गरेका गल्तीमा औंला उठाउनुपर्ने बताए् । उनले पत्रकारिता स्वच्छ तरिकाले विकास हुनु भनेको राज्यको समउन्नत अवस्था प्रमाणित हुनु रहेको बताए । उनले सञ्चार जगतले राज्यको विकासमा भुमिका खेलेको उल्लेख गरे ।
उक्त अवसरमा शाखामा स्थापना गरिएको ‘रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार’ शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।
‘टीकानिधि ढुङ्गाना व्यास परासर पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी सोनी शर्मालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ । ‘स्व भवानी खनाल पत्रकारिता पुरस्कार’ शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।
यस्तै ‘चिरणहरि पत्रकारिता पुरस्कार’ रासस समाचारदाता सानेबहादुर नेपालीलाई, ‘हरिभक्त स्मृति पत्रिकारिता पुरस्कार’ शाखाका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई, ‘भोर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार’ शाखाका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराइलाई तथा ‘पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार पवन पौडेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु दश हजार रहेको छ ।
महासंघ तनहुँ अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।









