तनहुँमा आज २१ जना नयाँ संक्रमित थपिए, ३८९ जना सक्रिय संक्रमित, एक महिलाको मृत्यु
- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा आज २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरण अनुसार भिमाद नगरपालिकामा १३, व्यास नगरपालिकामा ५, देवघाट, घिरिङ र म्याग्दे गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको विवरणमा जिल्लामा सक्रिय संक्रमितको संख्या ३८९ जना रहेको छ । जिल्लाका १० वटै पालिकाबाट १ हजार १५२ जनाको स्वाब नमुना संकलन पश्चात गरिएको पीसीआर परीक्षणमा १ हजार २२१ जनाम संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये ८१५ जना निको भएका छन भने जिल्लाको संस्थागत आइसोलेसनमा २४ जनालाई राखिएको छ भने अन्य सबै होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए ।
संक्रमणबाट एक महिलाको मृत्यु
यस्तै, कोरोना संक्रमणका कारण तनहुँको ऋषिङ गाउँपालिका-८ की एक महिलाको मृत्यु भएको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत ७८ वर्षीया ती महिलाको शुक्रबार राति मृत्यु भएको हो । उनमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । व्यास नगरपालिकामा ६, भीमाद नगरपालिकामा ५, शुक्लागण्डकी नगरपालिकामा २, म्याग्दे गाउँपालिकामा २ र आँबुखैरेनी गाउँपालिकामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।










