निर्वाचन प्रहरीका लागि तनहुँमा ४१६ जनाको निवेदन, दर्खास्त दिने म्याद माघ १ गतेसम्म

दमौली : यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीमा निवेदन आव्हान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार निर्वाचन सुरक्षामा खटिन इच्छुकका लागि दर्खास्त दिने म्याद माघ १ गतेसम्म तोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार पुस २७ गतेसम्म जिल्लाबाट जम्मा ४१६ जनाले आवेदन दिएका छन् । निर्वाचन सुरक्षाका लागि जिल्लामा कुल १ हजार ५७३ जनाको माग संख्या रहेको उनले जानकारी दिए ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापनको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इच्छुक र योग्य व्यक्तिहरूलाई तोकिएको म्यादभित्र आवेदन दिन कार्यालयले आग्रह गरेको छ ।










