तनहुँमा वर्षाले बढायो सडक र बस्तीको जोखिम

पृथ्वी राजमार्गमा दर्जनौँ स्थानमा पहिरो, ऋषिङमा प्रहरी चौकी जोखिममा, देउरालीमा कन्टेनर दुर्घटना

तनहुँ : अविरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवास्थित पृथ्वी राजमार्गमा शुक्रबार साँझ पहिरोसहितको लेदो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो । पहिरोमा एउटा मोटरसाइकलसमेत परेको छ । मानवीय क्षति भने भएको छैन । शुक्रबार साँझ करिब ६ः२५ बजे माथिबाट हिलोसहितको लेदो सडकमा खसेर अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएर जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक अमृत लामिछानेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोलीले राती कबिर ८ बजेको समयमा सडक सुचारु गरेको थियो ।

घाँसीकुवामा पहिरो खसेसँगै पृथ्वी राजमार्गको तनहुँ खण्डमा वर्षाका कारण सडक जोखिम थप बढेको छ । मौरीबास, मादीपुल आसपास, दमौली बजार नजिक, मुसेखोला, छिर्कने, विमलनगर, डुम्रे बजार नजिकको चिसापानी, सानो डुम्रे तथा आँबुखैरेनीको ऐनापहरा आसपासलगायत दर्जनौँ स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार वर्षा नरोकिएकाले जोखिमयुक्त स्थानमा थप पहिरो खस्न सक्ने अवस्था छ । कतिपय स्थानमा सडक अवरुद्ध भए पनि केही ठाउँमा एकतर्फी सडकलाई व्यवस्थापन गरी दुवैतर्फी सवारी सञ्चालन गरिएको छ ।

राजमार्गमा यात्रा जोखिमपूर्ण

मुग्लिन–पोखरा सडकखण्डका विभिन्न भागमा पहिरो खसेकाले तनहुँबाट मुग्लिन हुँदै काठमाडौं तथा भरतपुरतर्फ जाने यात्रासमेत प्रभावित भएको छ ।

प्रहरीले सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुनसक्ने भन्दै चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । पहिरो खसिरहेको वा जोखिम देखिएको स्थानमा सवारी नरोकी सुरक्षित दूरी कायम गर्न भनिएको छ ।

प्रशासनले अत्यावश्यकबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ । यात्रा गर्नैपर्ने अवस्था भए मौसम र सडकको पछिल्लो अवस्था बुझेर मात्र अघि बढ्न तथा जोखिम देखिए सुरक्षित स्थानमा रोकिएर बस्न अनुरोध गरिएको छ ।

ऋषिङमा प्रहरी चौकीसहित सरकारी भवन जोखिममा

राजमार्गसँगै जिल्लाका भित्री सडकमा समेत पहिरोको जोखिम बढेको छ । ऋषिङ गाउँपालिका–८ स्थित श्रीङ्गापथ मार्गको भित्री सडकमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सडकभन्दा करिब २० मिटर माथिबाट खसेको पहिरोका कारण प्रहरी चौकी ऋषिङरानीपोखरी तथा कृषि कार्यालयको भवनसमेत जोखिममा परेको प्रहरीले जनाएको छ। प्रहरी टोलीले पहिरो आंशिक रूपमा पन्छाएपछि साना सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाइएको छ । सडक पूर्णरूपमा खुलाउन गाउँपालिकासँग समन्वय गरेको थियो ।

देउरालीमा कन्टेनर सडकबाट खस्यो

यसैबीच, व्यास नगरपालिका–१२, देउरालीमा कन्टेनर दुर्घटना हुँदा चालक घाइते भएका छन् । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना.६ख ४५७८ नम्बरको कन्टेनर शुक्रबार साँझ करिब ५ः४० बजे नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको थियो ।

दुर्घटनामा मोरङको कठारी गाउँपालिका–१, महेशपुरका ३५ वर्षीय चालक कृष्णकुमार राजवंशी घाइते भएका छन् । उनको टाउको, छाती तथा दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । कन्टेनर सडकबाट तल खसे पनि पृथ्वी राजमार्गमा सवारी आवागमन भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।

जोखिम क्षेत्रको अनुगमन

वर्षाका कारण सडक तथा बस्तीमा बढेको जोखिमको अवस्थाबारे जिल्ला सुरक्षा समितिले शुक्रबार स्थलगत अनुगमनसमेत गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा प्रहरी उपरीक्षक टेकबहादुर कार्की, सुरक्षा समितिका पदाधिकारी तथा मुग्लिङ–पोखरा सडकखण्ड आयोजनाका इन्जिनियर अमित ढकालसहितको टोलीले आँबुखैरेनी–३ ऐनापहरा, व्यास–१२ छिर्कनस्थित पहिरो क्षेत्र तथा बन्दीपुर–४ ठूलढुङ्गामा जोखिममा परेको स्थानीयको घरलगायतका स्थानको निरीक्षण गरेको हो ।

टोलीले पहिरोको अवस्था, सडक भासिन सक्ने सम्भावना तथा सडक किनारका संरचना र स्थानीय बस्तीमा उत्पन्न जोखिमबारे जानकारी लिएको थियो। सम्भावित जोखिम न्यूनीकरण तथा सडक यातायातलाई सुरक्षित बनाउने विषयमा सम्बन्धित निकायसँग समन्वय गरिएको जनाइएको छ ।

प्रशासनको उच्च सतर्कता

जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म मध्यमदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले नदी, खोला तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको सतह बढे सुरक्षित स्थानमा जान तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने परिवारलाई सचेत रहन आग्रह गरेका छन् ।

जिल्ला सुरक्षा समितिले जोखिमयुक्त क्षेत्रको निगरानी बढाएको छ भने प्रहरीले सम्भावित जोखिम भएका बस्ती तथा सडक क्षेत्रमा माइकिङ गरी नागरिकलाई सचेत गराइरहेको जनाएको छ । विपद्को अवस्था आए तत्काल उद्धार तथा सहयोगका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ तथा जिल्ला आपत्कालीन केन्द्र १२३४ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker