युवाहरूलाई प्रोत्साहनको खाँचो : मलाई जागिरकै खोजीका लागि विदेश जान मन छैन – मीनबहादुर नेपाली

गण्डकी : “मलाई जागिरकै खोजीका लागि विदेश जान मन छैन यहीँ केही गर्ने इच्छा छ”, स्याङ्जाको आँधिखोला गाउँपालिका–५ का युवा मीनबहादुर नेपालीले भन्नु भयो ।

विदेश नजाने इच्छा कै कारण आफ्नो खेतबारी नहुँदा पनि अर्काको खेत कमाएर नेपालीले यसै वर्ष ५६ मुरी धान र ३५० भारी पराल उब्जाउन गरेको सुखद् अनुभव सुनाउनुभयो ।

आँधिखोला गाउँपालिकाको समन्वयमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा नेपाली सहितका स्थानीयवासीले भइरहेका विकास, बढ्दो विदेश पलायनसँगै विकास निर्माणमा प्रदेशसभाको भूमिकालगायतका विषयमा आ–आफ्ना भनाइ राख्नुुभएको थियो । आफ्नो घर भए पनि गरिखाने खेत नभएको दुःखेसो व्यक्त गर्दै नेपालीले आँफूजस्ता स्वदेशमा नै केही गर्छु भन्ने युवाहरूलाई प्रोत्साहनसँगै सहयोग आवश्यक भएको बताउनुभयो ।

खेतीबालीसँगै व्यवसायिक रूपमा भैँसीपालन गर्ने आफ्नो इच्छा रहेको र स्वदेशमा नै केही गर्नुुपर्छ भन्ने आफ्नो सोच रहेको उहाँको भनाइ छ ।सोही वडाकै अर्का युवा बेदलाल सुनारले आफ्नै देशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ विदेश नजाने गरी आँफूू फर्केको बताउनुभयो । देशमा बाहिरबाट हेर्दा जस्तो नकारात्मक पन यहाँ नपाएको बताउँदै उहाँले पछिल्ला समयमा विकासले पनि गति लिएको उल्लेख गनुभयो । “यहाँको नागडाँडादेखि कार्कीनेटासम्मको बाटो हामी बच्चा हुँदै खनेको हो”, उहाँले भन्नु भयो, “लगभग ३० वर्षको अन्तरालमा यहाँको बाटो राम्रो भएको छ, यस ठाउँको मुहार फेरिएको छ ।”

सङ्घीय व्यवस्थासँगै स्थापित प्रदेशको पालिकासँगको समन्वयबारे आँफू त्यति जानकार नभएको बताउँदै उहाँले नागरिकको पहुँचमा प्रदेश पुुग्नुु अपरिहार्य भएकोमा जोड दिनुभयो ।

पौरखीसँग सिप रहेपनि जमिन नरहेको तर जमिन हुनेको जाँगर नदेखिएको समाजिक वास्तविकता सुनाउँदै उहाँले आँफू आगामी दिनमा माछापालन गर्ने सोचमा रहेको बताउनुभयो ।

त्यस्तै अर्का युवा विज्ञान नेपाली विगत १६ वर्ष यता यहीँ नै केही गर्नुुपर्छ भन्ने भावनासहित निरन्तर लागिरहेको बताउनुभयो । आफ्नो व्यवसाय सञ्चालनका क्रममा स्थानीय तहका तर्फबाट राम्रो सहयोग पाएको उहाँको अनुभव छ ।

“रोजगारीकै लागि गाउँबाट शहर र शहरबाट विदेश पस्नुपर्ने अवस्था मैले देख्दिन । यही नै बसेर धेरै गर्न सकिन्छ”, उहाँले भन्नु भयो ।

आँधिखोला गाउँपालिका–२ का ओमप्रकाश सापकोटा विकास निर्माणका काममा गाउँपालिका प्रति आँफूको गुनासो नभए पनि प्रदेशको नामबाट आएका योजनाको अनुगमन नभएको बताउनुभयो । प्रदेशका सञ्चालन भएका योजनाको सामाजिक परीक्षण आवश्यक भएको उहाँको भनाइ छ ।

गाउँठाउँमा पछिल्ला समयमा धेरै विकास भएको बताउने आधिखोला गाउँपालिका–५ की धनमाया विक पछिल्ला समयमा बाटोघाटोसँगै खानेपानीलगायतका समस्या समाधान भएको बताउनुभयो ।

जातीय छुवाछुतको प्रभाव कायमै रहेको बताउँदै उहाँले अन्तरजातीय विवाह गरेकै कारण समाजबाट भन्दा पनि आफन्तीबाट विभिन्न किसिमका उत्पीडन भोग्नुुपर्ने अवस्था रहेको बताउनुभयो ।

अर्का युवा प्रेमबहादुर नेपाली घरघरमा बाटोघाटोलगायतका आवश्यक सेवा सुविधा पुुगिसकेका अवस्थामा यही नै केही गर्नुुपर्छ भन्ने भावना जागृत हुनु अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता पञ्चराम गुुरुङले स्वदेशमा नै केही गर्छुु भन्ने युवालाई राज्यको प्रोत्साहन आवश्यक भएको बताउनुभयो ।

देशमा वार्षिक बजेटभन्दा ऋण बढी हुनु चिन्ताजनक भएको उहाँको भनाइ छ । प्रदेशको आफ्नै साधनस्रोत पनि नरहेको अवस्थासँगै यसका सम्बन्धमा भनाइ र व्यवहारमा समानता नदेखिनुलगायतका कारण राप्रपाले वर्तमान संविधानमा आलोचनात्मक समर्थन गर्दै प्रदेश आवश्यक छैन भन्ने विषयलाई उठाउँदै आएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार पौडेलले सङ्घीयताको जग प्रदेश भएको जिकिर गर्नुुभयो । प्रदेश संरचनालाई प्रभावकारी बनाउनका लागि प्रणालीलाई बलियो बनाउनु आवश्यक भएको बताउँदै उहाँले पछिल्ला समयमा प्रदेशका प्रति विभिन्न किसिमबाट नकारात्मक टिप्पणी भइरहेको बताउनुभयो ।

कार्यक्रममा आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेल, उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष कमलप्रसाद पौडेल, कृष्णप्रसाद पनेरु, नविन ढकाल, कमलकाजी अधिकारीलगायतले राज्यका तीनवटै तहबीचको सहकार्य र समन्वयबाट मात्रै भएगरेका कामको प्रभावकारिता अभिबृद्धि हुने धारणा राख्नुुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker