घिरिङमा स्थानीय आर्थिक विकाससम्बन्धी तीन दिने तालिम

घिरिङ : तनहुँको घिरिङ गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई स्थानीय आर्थिक विकास र आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणमा सहयोग पु¥याउने उद्देश्यले तीन दिने तालिम सुरु गरिएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि गाउँपालिका कार्यालयको सभाहलमा तालिम सञ्चालन भइरहेको छ ।
तालिम उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष होम बहादुर थापाले स्थानीय तहमा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीहरूको सीप र ज्ञान अभिवृद्धि गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले योजना निर्माण र बजेट तर्जुमा प्रक्रियामा सहभागीहरूको प्रभावकारी भूमिका सुनिश्चित गर्न तालिमले महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे।
तीन दिनसम्म सञ्चालन हुने तालिममा गाउँपालिकाका ३७ जना जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको छ । प्रशिक्षक सूर्य विनोद पोख्रेल र शान्ति वरालाले सहभागीहरूलाई स्थानीय आर्थिक विकासको अवधारणा, बजेट निर्माण प्रक्रिया, स्थानीय स्रोत र साधनको पहिचान तथा उपयोग, सरोकारवालासँग सहकार्य, निजी क्षेत्रको सहभागिता, लगानी प्रवर्द्धन र सम्भावित विकास क्षेत्रहरूको विश्लेषण जस्ता विषयमा प्रशिक्षण दिइरहेका छन् ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीले तालिममार्फत स्थानीय स्रोतको पहिचान र विश्लेषण गरेर दीर्घकालीन आर्थिक योजनाको आधार तयार गर्न सकिने बताए । उनले प्रतिष्ठानले आगामी दिनमा यस्ता तालिमहरू अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।
तालिम व्यवस्थापनमा संलग्न प्रतिष्ठानका शाखा अधिकृत जित बहादुर रानाले स्थानीय स्रोत साधनको अध्ययन, योजना निर्माण प्रक्रिया र बजेट तर्जुमा कार्यदक्षता अभिवृद्धि नै तालिमको मूल उद्देश्य रहेको उल्लेख गरे ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी, प्रतिष्ठानका उपसचिव प्रभाकर घिमिरे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्यहरू तथा अन्य कर्मचारीहरूको उपस्थिति थियो ।