ताजा जनादेश : नेकपा-जनसभाको सन्देश

प्रकाश सिलवाल/शरद शर्मा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा जनसभा आयोजना गरी ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ । सभामा शीर्ष नेताले अब निर्वाचनले मुलुकको फैसला गर्ने भन्दै मुलुक निर्वाचनउन्मुख भएको बताउनुभएको छ । नेकपाको बागमती प्रदेश कमिटीले नारायणहिटी दरबार सङ्ग्रहालयको अगाडिको सडकमा आयोजना गरेको सभामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका सचिवालय सदस्यद्वय उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालगायत नेताले मुलुकको समृद्धि र स्थायित्वका लागि ताजा जनादेशको विकल्प नभएकाले मुलुक निर्वाचनमा होमिएको बताउनुभएको हो । सभामा सहभागी हुन यस प्रदेशका १३ जिल्लाका साथै देशभरिबाट नेकपाका नेता कार्यकर्ता आएका थिए ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले निर्वाचनको विरोधमा कार्यक्रम गर्दै आएकामा आज नेकपाले निर्वाचनका पक्षमा प्रदर्शन गरेको हो । सभा शुरु हुनुभन्दा अगाडि काठमाडौँका विभिन्न १६ ठाउँबाट विविभ भेषभूषासहित झाँकीसहित ¥याली निकालिएको थियो । मुलुक ताजा जनादेशमा जाने भनेपछि नेकपाको सभामा स्वतःस्फूर्त रुपमा अन्य पार्टी समर्थित मानिसको पनि सहभागिता रहेको आयोजकले जनाएको छ । आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ ।

प्रदर्शनमा ‘कम्युनिष्ट आन्दोलनको रक्षा गरौं : विसर्जनवाद र अवसरवादको विरोध गरौँ, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’, ‘नेपाली जनता के भन्छ : केपी ओली ले भन्छ’, ‘आज होइन भोलिलाई : १० वर्ष ओलीलाई’, ‘जनता हामी जाग्दैछौँ : निर्वाचनमा लाग्दैछौँ’, ‘समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा : पूरा गर्छौँ, पूरा गर्छौँ’ जस्ता नारा लगाइएका थिए ।

“अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश” भन्ने नाराका साथ भएको सभामा राष्ट्रिय झण्डा र नेकपाको चुनाव चिह्न सूर्य फहराउँदै बेलुन उडाइएको थियो ।

सभास्थलमा प्रधानमन्त्री ओली आउनुभएको उद्घोष कार्यक्रम सञ्चालक वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले गरेसँगै ओलीले मञ्चमा उभिएर हात हल्लाउँदा सहभागीले समेत हात हल्लाउँदै स्वागत गरेका थिए । सभामा सुभाषकुमार श्रेष्ठले बनाएको प्रधानमन्त्री ओलीको चित्र नेकपाका युवा नेता महेश बस्नेतले हस्तान्तरण गर्नुभएको थियो ।

प्रदेशका अध्यक्ष पोखरेलले पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गरिएको बताउनुभयो । कार्यक्रममा प्रिया भण्डारी र बैकुण्ठ महतले ‘ेकपा एकता कायम राख्न ‘एकता तोडेर नजाउ साथी हो र अभियान छोडेर नजाउ साथी हो’ भन्ने गीत प्रस्तुत गर्नुभएको थियो ।

उक्त गीतले सहभागीलाई मनोरञ्जन दिँदै नेकपा एकताको पक्षमा लाग्न सन्देश दिएको थियो । सहभागीहरु नेकपाको झण्डा र चुनाव चिह्नसँगै नाँचेका थिए । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले हात उठाएर मुलुक अगाडि बढेको सन्देश दिनका लागि विभिन्न ठाउँमा राखिएको तस्विरमा नेता कार्यकर्ता झुम्मिएका थिए । सभा हेर्नका लागि केशरमहल, जयनेपाल हल अगाडि र घण्टाघरसम्म मानिसहरु क्रमबद्धरुपमा बसेका रहेका थिए । कार्यक्रम सकिएपछि स्वयंसेवकले कार्यक्रमस्थल सरसफाइ गरेका थिए भने सभास्थल भन्दा अन्य क्षेत्रमा सवारी आवागमनमा कुनै अवरोध गरिएको थिएन ।

आयोजक बागमती प्रदेश कमिटीका सचिव खेमप्रसाद लोहनीले जनसभा अपेक्षकृतरुपमा सफल भएको जनाउँदै मुलुकमा राजनीतिकरुपमा देखिएको अन्योललाई चिर्ने काम यसले गरेको बताउनुभयो । रासससँग कुरा गर्दै सचिव लोहनीले जनतालाई अन्योल र अस्थिरतामा होइन, स्थिरताका लागि निर्वाचनमा जानुपर्छ भन्ने ठोस प्रमाण जनसभाले दिएको तथा पार्टीभित्र विवाद भए पनि जनताको समर्थन ओलीको नेतृत्वका पक्षलाई छ भन्नेतर्फ सभाले स्पष्ट सन्देश दिएको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “सभामा हामीले सोचेजति सहभागिता भएको पाइयो । बिहीबार दाहाल नेपाल समूहका आम हड्तालका कारण कतिपय टाढा टाढा रहेका जिल्लाबाट मानिसहरु आउन सक्ेनन् तर यो सभा ऐतिहासिक र सफल रहेको हाम्रो मूल्याङ्कन छ ।”

सभा सम्पन्न गर्न काठमाडौँ उपत्यकाका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरेको थियो । पार्टीका २१ वटै जनसङ्गठनले प्रदर्शनमा भाग लिएका थिए । नेकपाले यस्तै आमसभा आगामी फागुन १ गते लुम्बिनी प्रदेशको बुटवल र फागुन ८ गते प्रदेश नं. १ को विराटनगरमा गर्ने जनाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker