तनहुँको पाँच सय हेक्टर वनमा डढेलो

हिउँद शुरु भएपछि तनहुँको करीब पाँच सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका सामुदायिक वनमा छिटफुटरुपमा डढेलोका घटना बढेको डिभिजन वन कार्यालयले जनाएको छ डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले यकिन तथ्याङ्क नआइसके पनि करीब पाँच/छ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको जानकारी दिए । उनले भने, ‘अन्य जिल्लाको तुलनामा तनहुँमा विकराल समस्या त छैन, यद्यपि छिटफुटरुपमा डढेलोका घटना भएका छन ।’
उनका अनुसार डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ तर यसपटक भने डढेलोको ठूलो समस्या देखिएको छैन । र्सवसाधारण सचेत भएका कारण पनि डढेलो लाग्न कमी आएको हुनसक्ने उहाँको बुझाइ छ ।
‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासंघलगायतलाई आग्रह गरेका छौँ’, उनले भने, ‘सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।’ जिल्लामा रहेका आठ सव-डिभिजन वन कार्यालयले आ-आफ्नो क्षेत्रमा वन डढेलो नियन्त्रणका लागि सचेतना मूलक कार्यक्रम गरिरहेका छन्।
जिल्लाको ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका १० स्थानीय तहमा ६१६ सामुदायिक वन, ४८५ कबुलियती वन र छ धार्मिक वन छन् ।










