तनहुँको ऋषिङमा पालिका स्तरीय भलिबल प्रतियोगिता गरिने

तनहुँको ऋषिङ गाउँपालिकाले पालिका स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले यही फागुन १५ गते वडा नं. ४ को थप्रेकमा उक्त प्रतियोगिता गर्ने तयारी गरेको हो। गाउँपालिकाले आइतबार पत्रकार सम्मेलन गरी पालिका स्तरीय भलिबल प्रतियोगिता गर्न लागेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी गराए ।
‘प्रतियोगितामा सहभागिताका लागि नेपालका सबै स्थानीय तहलाई पत्रचार गरिएको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘युवाहरुलाई खेलका माध्यमबाट सिर्जनशील र रचनात्मक बनाउने उद्देश्यले भलिबल आयोजना गरिएको हो । अन्य पालिकाबाट सहभागीता जनाउँदा ऋषिङको प्रचारप्रसारमा समेत सहयोग पुग्ने हामीले विश्वास गरेका छौं ।’ उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद १ लाख ३५ हजार, ८० हजार र ५० हजार रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए।
यस्तै, प्रतियोगितामा टिम दर्ताका लागि दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ । टिम दर्ता फागुन १४ गते बेलुकी ४ बजेसम्म गराइ सक्नु पर्नेछ भने सहभागि टिमका सबै खेलाडीले नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र एक प्रति फोटो अनिवार्य लिएर आउनु पर्ने गाउँपालिकाले जनाएको छ । एक पालिकाबाट एउटा टिम मात्र सहभागी हुन पाउने र ४ नम्बर वडाको थप्रेक स्थित महेन्द्रज्योति प्राथमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।










