तनहुँ जलविद्युत् आयोजनको बाँध निर्माणका लागि ठेक्का सम्झौता
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि खरिद सम्झौता भएको छ । पहिलो प्याकेज निर्माण कार्यका लागि न्यूनतम मूल्याङ्कित तथा सारभूत रुपमा प्रभावग्राही सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीबीच सोमबार खरिद सम्झौतामा हस्ताक्षर गरिएको हो ।
सम्झौतामा आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिके र सोङ्ग दा-कालिका जेभीकातर्फबाट आधिकारिक प्रतिनिधि विक्रम पाण्डेले हस्ताक्षर गरेका छन् । कम्पनीसँग १६ अर्ब ६२ करोड (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक) रुपैयाँमा खरिद सम्झौता गरिएको छ ।
ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने व्यवस्था गरिएको प्रबन्ध-सञ्चालक थिकेले जानकारी दिए । आयोजनाको प्याकेज-१ (हेडवर्क्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सीएमसी डी राभेना, इटालीसँग २०७५ असोज १५ खरिद सम्झौता रद्द भएपश्चात कम्पनीले २०७६ वैशाख १२ गते पुनः बोलपत्र आहृवान गरेको थियो ।
कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूत रुपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्रहरु अस्वीकृत गरी एसियाली विकास बैंकको खरिद निर्देशिकाअनुरुप २०७६ फागुनमा पुनः दोस्रो पटक पुनः बोलपत्र आहृवान गरेको थियो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारी रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी गरिएको देशव्यापी बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लागू गरिएको प्रतिबन्धका कारण पटक-पटक बोलपत्र पेश गर्ने म्याद थप गरिएको थियो ।
कूल तीन वटा अन्तर्राष्ट्रिय बोलपत्रदाताले बोलपत्र पेश गरेकोमा प्राविधिक बोलपत्रको मूल्याङ्कनपश्चात सारभूत रुपमा प्रभावग्राही दुइ वटा बोलपत्र दाताहरुको आर्थिक बोलपत्र खोलिएको थियो । आर्थिक बोलपत्रको मूल्याङ्कनपश्चात न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही सोङ्ग दा-कालिका जेभीको बोलपत्र स्वीकृत गरी खरिद सम्झौता गरिएको हो ।
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिक तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ्ग खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत् गृह खन्ने कार्यहरुको अतिरिक्त सर्च ट्याङ्कतर्फको पहुँच सुरुङ्ग र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङ्गको निर्माण कार्य गरिरहेको छ ।
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/ नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।










