आदिकवि भानुभक्त क्याम्पसको ३९औं साधारणसभा सुरु, २० गते निर्वाचन

दमौली : तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको साधारणसभा बुधबारदेखि सुरु भएको छ। साधारणसभाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले शुभारम्भ गरेका थिए ।
क्याम्पसको ३९औं वार्षिक साधारणसभाको शुभारम्भ गर्दै पूर्वमन्त्री भण्डारीले शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्न नहुने बताएका छन् । तनहुँ क्षेत्र नं. २ बाट निर्वाचित सांसदसमेत रहेका भण्डारीले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताए। भण्डारीले नयाँ शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेकाले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्नेमा जोड दिए ।
समुदायस्तरबाट सञ्चालित आदिकवि भानुभक्त क्याम्पसले यस क्षेत्रको शैक्षिक उन्ननयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले शिक्षा क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने विचार व्यक्त गरेका थिए ।
करिब तीन हजार १०० विद्यार्थी अध्ययनरत रहेको यस क्याम्पसमा ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए।
यस्तै, क्याम्पसको साधारणसभा अन्तर्गत भदौ २० गते निर्वाचनको कार्यतालिका रहेको छ । क्याम्पसको अध्यक्षका लागि वर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठ, कमलामोहन वाग्ले, चुडामणि दाहाल, केशबहादुर सुनार, ठाकुर दरै लगायतको चर्चा चलेको छ ।
विसं २०४३ सालमा समुदायको सक्रियतामा क्याम्पस स्थापना भएको थियो। जुन बेला यस ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो। आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए ।










