गण्डकी प्रदेश पालिका स्तरीय भलिबल प्रतियोगिताको च्याम्पियन बन्यो गल्कोट
राजकुमार आले

तनहुँको शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको गण्डकी प्रदेशको पालिकास्तरी मेयर कप २०७७ भलिबल प्रतियोगिताको च्याम्पियन बागलुङको गल्कोट बनेको छ । शुक्लागण्डकी नगरपालिकाको प्रस्तावित रंगशाला गणपते खेलमैदानमा आइतबार आयोजक शुक्लागण्डकी ए टिमलाई ३-१ सेटमा पराजित गरी गल्कोट च्याम्पियन बनेको हो ।
गल्कोटले पहिलो सेट १६-२५ ले सहज जित निकालेको थियो । शुरुदेखि नै निकै प्रतिष्पर्धात्मक बनेको दोस्रो सेट शुक्लागण्डकी २६-२४ ले आफ्नो पक्षमा पारेको थियो । शुक्लागण्डकीका कप्तान विशाल सिं ठकुरी पहिलो सेटको शुरुमै घाइते भई मैदान छाडेका थिए । त्यसपछिको तेस्रो र चौथो सेट लगातार २१-२५ र १६-२५ ले जित हाँसिल गर्दै गल्कोट च्याम्पियन बन्न पुगेको थियो ।
गल्कोटले उपाधिसंगै नगद १ लाख ५० हजार रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको शुक्लागण्डकीले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगितामा कास्कीको मादी गाउँपालिका तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा मादीले २३-२५, २९-२७, २२-२५ र २०-२५ को सेटमा घिरिङ गाउँपालिकालाई पराजित गरेको थियो ।
मादीले नगद ५० हजार रुपैयाँ पायो भने सान्त्वना भएको घिरिङले नगद २५ हजार रुपैयाँका साथमा शिल्ड मेडल र प्रमाणपत्र पाएको छ ।

यस्तै, प्रतियोगितामा गल्कोटका विमल परियार सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १७ हजार रुपैयाँका साथमा ट्रफि प्राप्त गरे । नगरपालिकाले घोषणा गरेको १० हजार रुपैयाँसहित नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिमबक्स मियाँको ५ हजार एक सय र स्थानीय एक व्यक्तिकाले प्रदान गरेको २ हजार रुपैयाँ गरी विमलले १७ हजार १०० रुपैयाँ प्राप्त गरेका हुन् ।
त्यस्तै, मादी गाउँपालिकाका सफल वि.क. उत्कृष्ट स्पाइक, गल्कोटका मिन सुनार उत्कृष्ट सेटर, गल्कोटककै प्रकाश सुनार उत्कृष्ट र्सवर, शुक्लागण्डीका मिन कुमाल उत्कृष्ट ब्लकर, गल्कोटका रिजन राना उत्कृष्ट डिफेन्डर र शुक्लागण्डकीका प्रदिप गुरुङ उदयमान खेलाडी घोषित भए । उनीहरुले जनही ५ हजार रुपैयाँको साथमा ट्रफि र प्रमाण पत्र हात पारेका छन् ।
विजेता टिम तथा विद्यागत विजेताहरुलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, नगर प्रमुख किसान गुरुङ, उपप्रमुख सविता रसाइली, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, खेल संयोजक एवं वडा नं ५ का वडाध्यक्ष दर्ीघबहादुर थापा, वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री गुरुङले शुक्लागण्डकीलेे आयोजना गरेको भलिबल प्रतियोगिताले खेल क्षेत्रमा थप योगदान पुर्याएको बताए । उनले गणपते मैदानलाई रंगशाला बनाउने गरी नगरपालिकाले डिपिआर गरेकोमा गण्डकी प्रदेशले पनि थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।

मन्त्री गुरुङले खेल पहिचान र गौरवको विषय भएको भन्दै खेलकुदलाई सद्भाव र एकताको प्रतिकको रुपमा लिइने बताएका थिए । खेलबाट गाँसिने सम्बन्ध सबैभन्दा असल र राम्रो हुने उनको भनाई थियो । उनले अनुशासनमा रहन र स्वस्थस्फुर्त बन्नका लागि पनि खेलको आवश्यकता रहने बताउँदै खेलकुदको विकासमा गण्डकी प्रदेशले प्रशस्त मात्रामा बजेट विनियाजन गरेको बताए ।










