म्याग्दे गाउँपालिकाद्वारा तीन दिने नेतृत्व विकास तालिम सञ्चालन
भञ्ज्याङ समाचारदाता (दमौली)

म्याग्दे गाउँपालिकाले तीन दिने नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । तालिमको आइतबार शुभारम्भ गर्दै गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले तालिम सिकेपछि घरमा फर्केर गएर यत्तिकै नबस्न आग्रह गरे । तालिममा सिकेको कुरा प्रयोगमा ल्याउने र आ-आफ्नो समुहलाई तालिमको बारेमा सिकाउन समेत आग्रह गरेका छन् ।
महिलाहरू अगाडि उभिएर निर्धक्कसँग बोल्न, आफ्ना कुरा राख्न सक्ने बनाउने लक्ष्य गाउँपालिकाले लिएको भन्दै उपाध्यक्ष घिमिरेले हरेक कामलाई अरूको मात्रै मुख ताक्ने होइन आँफैबाट सुरु गर्नुपर्छ अनि मात्रै समाज बन्ने बताए । महिलाहरूलाई अगाडि बढाउन, सबल र सक्षम बनाउन तालिम आयोजना भएकोले यसको भरपुर उपयोग गर्न उनले सहभागीहरूलाई आग्रह गरे ।
वडा नं. ३ का अध्यक्ष श्रीबहादुर थापाको अध्यक्षतमा आयोजित तालिम शुभारम्भ समारोहमा वडा नं ४ का अध्यक्ष प्रेमबहादुर थापा, कार्यापालिका सदस्य बद्रीका घिमिरे, आशा गुरूङ, सुस्मिता किसान, धनमाया आले लगायतले शुभकामना मन्तब्य राखेका थिए । तालिमको पत्रकार पवन पौडेलले सहजिकरण गरेका थिए ।










