औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए

मुस्ताङ : चैतेदसैँ औँसी नुहाउन एकैदिन १० हजारभन्दा बढी तीर्थालु मुस्ताङ भित्रिएका छन् । चैतेदसैँ औँसी तिथिको अघिल्लो दिन आज दिवङ्गत पितृको उद्धारका लागि मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न धार्मिक श्रद्धालु भक्तजनको घुइँचो लागेको हो ।

जिल्ला प्रहरी कार्यालयले चैतेदसैँ औँसी तिथिमा कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालुले मुस्ताङका होटल भरिभराउ भएका जनाएको छ । थासाङ गाउँपालिका–४ घाँसाबाट कागबेनीसम्मका अधिकांश होटल श्राद्ध गर्न आउने तीर्थालुले भरिभराउ भइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र थासाङ गाउँपालिकाको प्रहरी चौकी घाँसा चेकपोष्टमा बिहीबार साँझ ५ः०० देखि आज साँझ ५ः०० बजेसम्म नौ हजार पाँच सय ९२ जना तीर्थालु यहाँ भित्रिएका छन् ।

प्रहरी नायब उपरीक्षक बोगटीले घाँसा प्रहरी चेकपोष्टबाट पछिल्लो २४ घण्टामा एक हजार दुई सय ४० यात्रुवाहक सवारीसाधन मुस्ताङ प्रवेश गरेका जानकारी दिनुभयो । शनिबारको चैतेदसैँ औँसी तिथिमा कागबेनीमा श्राद्ध गर्ने र मुक्तिनाथमा दर्शन गर्ने दर्शनार्थीको सुरक्षाका लागि मुस्ताङ प्रहरीले मातहतका निकायलाई सक्रिय बनाइसकेको उहाँले उल्लेख गर्नुभयो ।

कागबेनीमा श्राद्ध गर्ने तीर्थालुको सहजताका लागि सवारीसाधनलाई व्यवस्थित गर्न कागबेनी क्षेत्रमा एकतर्फी (वानवे) सडक लागू गरिएको प्रनाउ बोगटीले बताउनुभयो । “भोलि कागबेनीधाममा जानेलाई मुख्य सडकबाट सिधैँ र श्राद्ध गरिसकेपछि कागबेनी गाउँ हुँदै मुक्तिनाथ उक्लिएर जोमसोम जानेगरी सवारीका लागि मार्ग तोकिएको छ”, उहाँले भन्नुभयो, “श्राद्धस्थलबाट दक्षिण एक सय मिटर तल सवारी पार्किङ गर्ने स्थान तोकिएको छ ।”

यसैगरी मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थी र भक्तजनको सहजताका लागि मुक्तिनाथ क्षेत्रमा सवारी पार्किङस्थल निर्धारण गरिएको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार कागबेनीमा श्राद्ध गरी माथि उक्लिने भक्तजन सवार साना तथा हुलुका सवारीसाधनलाई मुक्तिनाथ रानीपौवाको दुईवटा बसपार्क र ठूला बसका लागि रानीपौवा बसपार्कबाट एक सय ५० मिटर तलको खुला चौरमा पार्किङको व्यवस्था मिलाइएको छ ।

चैतेदसैँ औँसी नुहाउन र पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न आउनेको भीडले यहाँका अधिकांश होटल भरिएका जोमसोमका पर्यटन व्यवसायी अजित थकालीले बताउनुभयो । बर्सेनि चैतदसैँ र बडादसैँको औँसीमा हजारौँ श्रद्धालु भक्तजन यहाँ आउने गरेको उहाँको भनाइ छ ।

मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनीधाममा पुगेर दिवङ्गत पितृको श्राद्ध, तर्पण र पिण्डदान गर्नाले पितृ खुसी हुने र आशीर्वाद प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ । दुई वर्षअघि कागखोला बाढीले कागबेनीधाम र यहाँको भौतिक संरचनामा क्षति पुगेपछि कागबेनीमा श्राद्ध, पूजापाठ र स्नान गर्न समस्या हुँदै आएको छ ।

बर्सेनि लाखौँ पर्यटकले श्राद्ध गर्ने कागबेनीधाम क्षेत्रमा धार्मिक पर्यटकको सहजताका लागि तीनै तहका सरकारले भौतिक संरचना निर्माण र व्यवस्थापनमा सहकार्य र समन्वय गर्नुपर्ने कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो । मुस्ताङको कागबेनीधाम धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण स्थानका रूपमा लिने गरिएकाको यथाशीघ्र यस क्षेत्रको पुनःनिर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

परापूर्वकालमा कागभुसुण्डे ऋषिले तिलिचो तालमा तपस्या गरेर कागबेनीमा स्नान गरेको किंवदन्ती रहेकाले बर्सेनि धार्मिक तीर्थालुहरूले यहाँस्थित कागबेनी त्रिवेणीधाम पुगेर स्नान गरी दिवङ्गत पितृ उद्धारका लागि श्राद्ध तथा पिण्डदान गर्ने प्रचलन रहिआएको स्थानीय बताउँछन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker