मोबाइलको अप्रिय घण्टी

आनन्द सुन्दर श्रेष्ठ

म उठेको थिइन । मोबाइलमा बजेको घण्टीले व्युँझायो । मोबाइल उठाएँ, निकै आत्तिएको परिचित स्वर अमृतको आवाज रहेछ, ‘लौ छिटो घारी पिचबाटोमा ट्याक्सी लिएर आउनु पर्‍यो (भेना) जिराजु….! यहाँ पूर्ण दाइ बेहोस भएर ढल्नु भो,’ यो पछिल्लो वाक्यले म छाँगाबाट खसेजस्तै भएँ । मैले अमृतलाई विरामीलाई नसुताउनु उठाइ राख्नु म तुरुन्त आउँछु भने । हतार हतार धन बहादुर थापा जुवाइँको कार लिएर स्पोट पुगे । म साह्रै हतासमा थिएँ । साथीहरु नारायण र भरतलाई त्यसबारे जानकारी गराएँ, सहयोगको याचना गरे । मभन्दा अघि एउटा ट्याक्सी, एम्बुलेन्स, प्रहरीको गाडी पुगी सकेको रहेछ । तुरुन्त पूर्णलाई उठाएर एम्बुलेन्समा राखियो । कहाँ लाने के गर्ने भन्दा भन्दै सबभन्दा नजिकको तनहुँ सेवा अस्पतालको इमर्जेन्सी लगियो । डाक्टरले जाँच गरेपछि एउटा अविश्वसनीय परिणाम सुनाए । पूर्ण हामीबीच रहेनन् । पूर्णलाई बचाउन सकिएन । भाउन्न भएँ, चारैतिर अन्धकार छायो । सुकुलाई सम्हाल्नै सकिएन । म किंकर्तव्यविमुढ भएँ, छटपटी भो । पूर्ण निस्प्राण भएको विश्वास नै लागेन ।

इलेक्ट्रीक शक, फोक्सोमा अक्सिजन दिने नयाँ प्रविधि भएको अस्पताल भएको भए सायद बँचाउन सकिन्थ्यो कि भन्ने मलाई मनमा लागिरहृयो । हाम्रा अस्पतालहरुमा यी न्यूनतम सुविधाहरु नहुनु, एम्बुलेन्समा जीवन रक्षाको न्यूनतम सुविधा नहुनु पनि विरामीको अकालमा ज्यान जाने कारणमा सहायक बन्दो रहेछ । साह्रै दुःख लाग्यो । खै हाम्रो देशमा गतिलो स्वास्थ सेवा कहिले पाउन सकिएला ? सोँचेर ल्याउँदा नि दिग्दार लागेर आउँछ । यसो भनी रहँदा छोरी आकृतीले ‘ठूलो बा यस्तो ठाउँमा पनि के बस्नु, बेकालमा मर्नु पर्दो रहेछ, अन्तै जाऊँ’ भनी । मन साह्रै खिन्न भो, सायद सुविधा सम्पन्न अस्पताल नजिक भएको भए पूर्णलाई बचाउन सकिन्थ्यो कि भन्ने आशयमा छोरीबाट यो मर्मस्पर्शी कुरा आएको थियो ।

२०७८ जेठ १२ गते मर्निङवार्कमा पुलचोक रक गार्डेननेर पूर्णसँग अमृतको भेट भएको रहेछ । दुइजनासँगै शुक्लागण्डकी नगरपालिकाको वार्ड नं. ९ अन्तर्गत घारीसम्म वाकिङमा जाने निधो गरेछन् । बाटोमा जाँदै गर्दा पूर्णले छात्तीमा अलि असजिलो भएको बताएछन् । अमृतले ग्याष्टिकले होला दाइ केही हुन्न भन्दै दुबै ठट्टा गर्दै गएछन् । यसरी अघि बढ्दै गर्दा सुरौदी खोलाको पुल कटेपछि सुरु हुने पिचबाटोको बीचमा दुबैजना बसेछन् । बस्ने बित्तिकै पूर्णले आफूलाई साह्रै असजिलो भएको बताउँदै गर्दा बेहोस भै ढलेछ । तुरुन्त अमृतले छात्तीमा प्रेस गरी पूर्णलाई होसमा ल्याएछ, होसमा आएपछि पूर्णले दिशापिसाब लागेको बताएपछि पिचबाट अलिपर लैजान भनेछ, अमृतले नजाऊँ यही बसौं भन्दाभन्दै उठेर जाँदा भुइँमा बस्नु पनि हुत्तिनु पनि भएछ । अनि बेहोस भएको मान्छे अनेक उपाय गर्दा पनि होसमा आउनै सकेन । अमृत एक्लै विरामीलाई सम्हाल्दै उद्दारका लागि गुहार्दै फोन गर्न लागेछ । मेरो मोबाइलमा बजेको त्यही अप्रिय घण्टीले मलाई झस्काएको थियो ।

कोभिड-१९ को प्रकोप बढी रहेको बेला नजिकै आएका तिब्बतियन वाकरहरु पनि विरामी नजिक आउन डराएछन् । तर प्रहरीलाई सूचना दिएर सहयोग गरेछन् । पूर्णलाई बचाउन हरसम्भव प्रयास अमृतको निस्फल भयो । ऊ हक्कानिएको थियो, त्यो कठिन पलको एक्लै सामना अनि पीडा, म कल्पना पनि गर्न सक्दिन कति अत्यास लाग्यो होला ।

स्व. पूर्ण श्रेष्ठ

पूर्ण नाताले मेरो भाइ, ब्यबहारमा साथी थियो । रिसिङबाट दुलेगौंडा ब्यापारको सिलसिलमा सायद २०५६ सालतिर आएको थियो । दुलेगौडा भित्रीबजारमा उनले फेन्सी पसल सञ्चालन गरे । बीचमा नर्वे गए, आएर दुलेगौडामा घर बनाए। सरल, मिलनसार, मृदुभाषी र स्पष्ट वक्ता भएकाले उनी सबैवीच प्रिय बने । सफल व्यबसायीका रुपमा अघि बढे ।

विद्यार्थीकालमा नेप्रवियू हुँदै अनेरास्ववियूको जिल्ला कमिटीमा रहेर काम गरेका उनी राजनैतिक धरातलमा नेकपा एमालेको पार्टी संगठनमा प्रतिवद्ध थिए । रिसिङका कम्युनिष्ट पिताम्बर रानाभाट, शिक्षक डम्बर वि.क. र भिमादका राजकुमार श्रेष्ठबाट विशेषरुपमा प्रभावित भएको सुनाउँथे पूर्ण । सानैदेखि अन्याय नसहने क्रान्तिकारी स्वभावका रहेछन् उनी । उनले किशोर अवस्थादेखि नै रिसिङका सामान्तहरुसँग व्रि्रोह गरेका थिए । उनी भलिबलका निकै राम्रा खेलाडी थिए । साहित्यप्रति उनको अभिरुचि थियो । स्वभिमानीपन, निडरता र हकीपन उनको जीवन्त कायम रहृयो ।

करिब २०/२२ वर्षको घनिष्ठ सम्बन्धमा हामी मिलेर विभिन्न संघसंस्थामा काम गरियो । अनेक दुःखसुखमा सहभागी भइयो । उद्योग बाणिज्य संघ, शुक्ला साहित्य संगम, अरिदेव नेवा पुचः, शुक्लागण्डकी एफ.एम. आदि संस्थाहरुमा कृयाशील भई विभिन्न अविष्मिरणीय-उलेख्य कार्यक्रमहरु गरियो ।

एउटै पार्टीमा संगठित भएकाले, विचारमा हाम्रो समानता थियो । काममा होस्टे-हैसे र सामिप्यता थियो । नेकपा एमालेको शुक्लागण्डकी नगरकमिटीमा उनी सचिव भएर पछिल्लो समय पार्टीको काममा सक्रिय थिए । गत स्थानीय चुनाबमा शु..न.पा. ४ को वार्ड अध्यक्षमा नेकपा एमालेको तर्फबाट प्रत्यासी उम्मेदवार थिए । हारमा निराश र जितमा मात्तिने उनको स्वभाव थिएन । केही नयाँ गरौँ भन्ने हुतहुती उनमा भएको मैले पाएको छु । पूर्णसँग जति संगत गरियो, त्यति मिठासले भरिएको मैले अनुभूति गरेको छु, तिक्तता कहिल्यै भएन । आज उनको सम्झनामा नरुने चिनारु सायदै होलान । हिजोका हाँसो-ठट्टा आजै जस्तो लाग्छ । आज उनको अभाव कतैबाट पूरा हुने मैले देखेको छैन । साथीसँगको संगतमा स्वभावको ठूलो स्वमूल्याङ्न पनि हुँदो रहेछ ।

पूर्ण आफ्नो स्वास्थ्यप्रति सचेत मान्छे पनि हो । कहिले काँही ब्लडप्रेसर लो हुन्छ भन्ने गुनासो सुन्थे । हार्ड मर्निङवाक र घटनाभन्दा चार दिन अगाडि ब्लड डोनेसन गर्नु पनि यो अकल्पनीय घटना हुनुमा सहायक थियो कि भन्ने कताकता मलाई मनमा चस्का पर्छ । यो लकडाउनको बेला बढी हिड्डुल नगर्न मैले सचेत पनि गरेको थिएँ । मलाई लोप्साङ भनेर गिज्याउने र मैले हेनरी भनेर जिस्किने गरेको खै कसरी भुलूँ । उसको मिलेको शारीरिक बनोट देखेर मैले हेनरी उपनाम राखेको थिएँ । सायद मैले लामो समय तिब्बतियन स्कुलमा पढाएकोले लोप्साङ भनेको हनुपर्छ, हाम्रो रमाइलो मजाक चल्थ्यो। पूर्णले यति छिटै हामीलाई छाडेर जान्छ भन्ने कल्पना कसैलाई थिएन । हामी साथीहरुको वीचमा एक खाले शून्यता भनौ वा खालिपन सृजना भएको छ अहिले, कसै गरी त्यो पूर्ति हुने अवस्था देख्दिन ।

आज परिवारले आफ्नो प्रियजन गुमायो, हामीले सँधै मुस्कुराइ रहने मृदुभाषी, सरल, सहृदयी र एक वफादार साथी गुमायौँ तथापि देशले एक होनाहार, उर्जाशील र कर्मठ युवा गुमायो । पूर्णको समाज परिवर्तन गर्ने प्रतिबद्धता अधुरो भयो, त्यो अधुरो काम पूरा गर्ने जिम्मेवारी हामी बाँचेकाहरुको काँधमा आएको मैले ठानेको छु । मृत्यु अन्तिम सत्य हो, ढिलो वा चाँडो सबै एकदिन जानैपर्छ । तर कसैको मृत्यु प्वाँखभन्दा हलुङ्गो र कसैको मृत्यु हिमालय पहाडभन्दा गहु्रङ्गो हुन्छ । पूर्णले त्यही हिमालय पहाडभन्दा गह्रुङ्गो मृत्यु वरण गरे । पूर्णको स्मृतिलाई अजर-अमर बनाउन हामीले केही त गर्नै पर्छ तब नै पूर्णप्रति साँचो श्रद्धाञ्जली हुनेछ । अल बिदा पूर्ण ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker