देवघाटको छिपछिपे स्वास्थ्य चौकी तनहुँमा प्रथम

दमौली : तनहुँको देवघाट गाउँपालिकाको छिपछिपे स्वास्थ्य चौकी जिल्लामा प्रथम भएको छ। तनहुँका १० वटा पालिकाका ८५ वटा स्वास्थ्य संस्थाहरुलाई पछि पार्दै देवघाट–३ मा रहेको छिपछिपे स्वास्थ्य चौकी प्रथम हुन सफल भएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले तय गरेको विभिन्न मापदण्ड र कार्यसम्पादनका आधारमा छिपछिपले ९२ दशमलव २ अंक प्राप्त प्रथम हुन सफल भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीको संयोजकत्वमा गठित चार सदस्यीय मुल्याङ्कन समितिले गरेको मूल्याङ्कनमा शुक्लागण्डकी नगरपालिका–४ को खैरेनीटार स्वास्थ्य चौकी द्धितीय र ऋषिङ गाउँपालिका–२ को काहुँशिवपुर स्वास्थ्य चौकी तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
स्वास्थ्य कार्यालय तनहुँले प्रथम, द्धितीय र तृतीय हुने स्वास्थ्य चौकीहरुलाई सोमबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ ।
स्वास्थ्य संस्थाहरुको जिल्लास्तरीय समिक्षा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य संस्थालाई सम्मानित गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जनतालाई दिने स्वास्थ्य सेवामा कुनै पनि हेलचक्र्याई र लापरवाही गर्ने छुट नभएको बताए । मन्त्री पाठकले जुन विषयबाट पनि स्वास्थ्य जोडिने हुँदा सबैसँग सहकार्य गरी स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउन र स्वास्थ्य उपचार सेवा सर्वसाधारणको पहुँचमा पु¥याउन सबै क्षेत्र हातेमालो गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा १० वटै स्थानीय तहका स्वास्थ्य प्रमुखहरुले आ–आफ्नो पालिकाभित्रको स्वास्थ्य क्षेत्रको अवस्था र चुनौतीका विषयमा सहजिकरण गरेका थिए ।
प्रदेशका स्वास्थ्य मन्त्री पाठकले सोमबार दमौली अस्पतालको निरिक्षण गर्दै स्तरोन्नती गर्ने प्रतिबद्धता समेत जनाएका छन्। दमौली अस्पतालको स्तरोन्ती गरी आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन गर्न आफु लागिपर्ने प्रतिवद्धता जनाउँदै उनले प्रदेश सरकारले छ वटा अस्पतालको स्तरोन्नती गर्न लागेको जानकारी गराए ।
दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर पालिकाका मेयर बैकुण्ठ न्यौपाने र दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले अस्पतालको अवस्थाका विषयमा जानकारी गराउँदै अस्पतालको स्तरोन्नतीका लागि आवश्यक पर्ने प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेका थिए ।










