कांग्रेसलाई शक्तिसाली बनाउन हाम्रो गठबन्धन, ओलीको गठबन्धन दरबारवादी र प्रतिक्रियावादी : कांग्रेस नेता पौडेल

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ पाँचदलीय गठबन्धनले कांग्रेसलाई ठूलो र शक्तिशाली बनाउने बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेको गठबन्धनलाई दरबारवादी र प्रतिक्रियावादीको भएको आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले आइतबार दमौलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले संविधानको रक्षा र परिवर्तनलाई जोगाउन पाँच दलीय गठबन्धन आवश्यक रहेको दाबी गरे ।

दरबारवादी र राजा फर्काउने प्रतिक्रियावादीहरुलाई लिएर नेकपा एमाले अध्यक्ष ओलीले गठबन्धन गरेको आरोप लगाउँदै नेता पौडेलले भने, ‘यो देश, संविधान, मुलुकलाई शान्ति प्रक्रियामा अगाडि बढाउन सबैको समानुपातीक अधिकार स्थापित गर्न बनाइएको संविधानको रक्षका लागि हाम्रो पाँच दलीय गठबन्धन हो ।’

उनले भने, ‘एमाले अध्यक्ष ओलीको गठबन्धन पुरातनवादी, देशलाई पछाडी फर्काउन चाहाने, बाहिर राट्रवादको मुकुण्डो लगाएर भित्र विदेशीको सामु घुँडा टेक्ने, लम्पसारपर्नेहरुको गठबन्धन हो ।’

हामीले प्राप्त गरेको ३१ प्रतिशत जनमत र हाम्रो विपक्षमा रहेको ७० प्रतिशत जनमतलाई तल झारेर हामी ५० प्रतिशत भन्दा माथि कांग्रेसलाई पुर्‍याउनका लागि यो गठबन्धन भएको भन्दै नेता पौडेलले २३ सिटमा अड्किएको नेपाली कांग्रेसलाई अब हामी ९३ सिटमा पुर्‍याउन चाहेको हुँदा यो गठबन्धनबाट कांग्रेस पार्टीलाई बलियो बनाउने दाबी गरे ।

यस्तै, नेता पौडेलले गठबन्धनको विरोध गर्नु भनेको केपी ओलीलाई बलियो बनाउनु भएको बताएका छन् । ‘कांग्रेस कमजोर रहेकाले गठबन्धन गरी पहिलो शक्ति बन्न खोजिएको हो’, उनले भने, ‘स्थानीय निर्वाचनमा भएको गठबन्धनले नोक्सान गरेको छैन । जनमत कमजोर रहेकाले कांग्रेसलाई बलियो बनाउन गठबन्धन आवश्यक छ ।’

गठबन्धनको मर्म र भावना अनुसार मतदान गर्न कार्यकर्तालाई निर्देशन दिंदै नेता पौडेलले प्रतिगमनतर्फलैजान चाहने शक्तिको विरुद्ध प्रगतिशिल गठबन्धन गरिएको हुँदा गठबन्धनको विषयमा द्विविधामा नरहन कार्यकर्तालाई आग्रह गरे । उनले कांग्रेससंग भएको जनमतलाई ध्यानमा राखेर गठबन्धन गरिएको हुँदा गठबन्धनले कांग्रेसलाई फाइदा पुग्ने बताएका छन् ।

यस्तै, नेता पौडेलल मुलुकमा प्रजातन्त्रको लडाइ नसकिएको बताएका छन् । देशी विदेशी षड्यन्त्रहरु भइरहेको, राष्ट्रिय प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय षड्यन्त्रकारीहरुबाट यो देशलाई स्थायीत्वमा लग्न नदिन, विकासलाई रोक्ने काम भइरहेको हुँदा अझै हामी प्रजातन्त्रको लडाइ लड्नुपर्ने अवस्था रहेको उनले बताएका छन् ।

नेता पौडेलले अझै धेरै कुरा गर्न बाँकी रहेको र मजदुरले अधिकार नपाएको समेत चर्चा गरे । उनले अझै सोशितपीडित जनताले आहत भोग्दै आएका, श्रम गर्ने मानिसहरुको श्रमको सम्मान, श्रम गर्ने मानिसहरुको अधिकारको सम्मान, श्रम गर्ने मानिसलाई मर्यादा दिने संस्कार, सभ्यता अझै हामीले बसाउन नसकेको बताएका छन् ।

नेता पौडेलले गाउँघरमा सबै भन्दा बढी मेहनत गर्ने, समाजमा जस्ले सबै भन्दा बढी श्रमको काम गर्छ त्यसलाई तल्लो दर्जामा राख्ने त्यो संस्कृतिको अन्त्य नभएको बताए । उनले भने, ‘हाम्रो आन्दोलन राजनीतिक आन्दोलन मात्र होइन समाजिक आन्दोलन पनि हो । आर्थिक रुपले पनि शोषणको अन्त्य हुनुपर्छ, सामाजिक रुपले पनि भेदभावको अन्त्य हुनुपर्छ, महिला, दलित, श्रमजिवि, किसान, मजदुर, जनताको सम्मान र बराबरीको अधिकारी सबै सरहको हुनुपर्छ भनेर नै हामी प्रजातन्त्र र समाजवादको नारा लिएर अगाडि बढेको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker