तनहुँमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान

दमौली : तनहुँमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न पालिकामा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु गरेको हो ।
तनहुँ वन डढेलो हुने जिल्लामा पर्ने भएकाले वन कार्यालयले विभिन्न पालिकामा पुगेर सरोकारवालाई वन डढेलो नियन्त्रणका लागि सतर्क गराउन सचेतनामूलक कार्यक्रम गरेको हो। सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार जिल्लाका भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा सचेतना कार्यक्रम गरिएको छ ।
फागुनदेखि वैशाखसम्म डढेलो लाग्ने सम्भावना भएकाले नियन्त्रणका लागि समुदायस्तरबाट सहयोग अपरिहार्य रहेकाले सचेतना कार्यक्रमलाई जोड दिइएको पण्डितले बताए । वन डढेलोले जनधन, वन र जैविक विविधतामा असर पर्ने भएकाले स्थानीयस्तरमै पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले बताए ।
गत आर्थिक वर्षमा जिल्लामा ११७ हेक्टरभन्दा बढी क्षेत्रफलमा डढेलो लागेको थियो। कार्यालयले डढेलो नलगाउनका लागि सचेतनामूलक कार्यक्रम, प्रचारप्रसारलाई समेत जोड दिँदै आएको छ । सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।
जिल्लाको ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका १० स्थानीय तहमा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, छ धार्मिक वन रहेका छन् ।
डढेलोबाट भुइँमा झरेको रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुखमा धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको बासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने तथा वनमा लागेको आगो नजिकको गाउँघरमा सरी धनजनको क्षति हुने जोखिम बढ्ने बताइन्छ ।
वन डढेलोले कम्तीमा १० प्रतिशत तापक्रम बढाउने बताइएको छ । वनमा डढेलो लगाउने कार्य गम्भीर अपराध मानी फौजदारी कसुरमा राखिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका आठवटै सबडिभिजनमार्फत वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
वन ऐन, २०७६ को दफा ५० को उपदफा ४ बमोजिम दफा ४९ को खण्ड (घ) अन्तर्गत राष्टिूय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल उपर गरी तीन वर्ष कैद वा रु ६० हजारसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान रहेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker