आँखाको शल्यक्रिया गराउन पाउँदा वृद्धवृद्धा हर्षित
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँखा शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन संघ पुनर्स्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी गाउँपालिका-३ मा सञ्चालित तीनदिने शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको हो । शिविरमा दुइ सयजनाको आँखा परीक्षण गरिएको थियो । आँखामा मोतियाविन्दु देखिएकाहरूको सोही ठाउँमा नै शल्यक्रिया गरिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताए ।
भरतपुर आँखा अस्पतालका डा रञ्जीतकुमार शाहको नेतृत्वमा चिकित्सकको टोलीले वृद्धवृद्धाको आँखाको शल्यक्रिया गरेको थियो । आफ्नै ठाउँमा आँखाको शल्यक्रिया गर्न पाउँदा वृद्धवृद्धा हर्षित भएका छन् ।
गाउँपालिकाले नीतिगत निर्णय गरेर आँखा क्लिनिक र आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताए । “गाउँघरमै आँखाको शल्यक्रिया गर्न पाउँदा स्थानीयवासीलाई पनि सहज भयो, नत्र चितवन, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो”, उनले भने “गाउँपालिकाले पनि अब शल्यक्रिया सहितको शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।”









