जैविक कृषि र ग्रामीण पर्यटनका कार्यक्रमले म्याग्देको बर्च्याङका बासिन्दाको दैनिकी र जीवनस्तरमा परिवर्तन

नारायण खड्का/तनहुँ

तनहुँका अधिकांश ग्रामीणबस्ति उजाडिदै गएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता आधारभूत आवश्यकता सहज रुपमा उपभोगबाट बञ्चित रहेका अधिकांश ग्रामीणबस्तिहरु अहिले खण्डहर हुने अवस्थामा पुगेका छन् ।
सेवा सुविधाको खोजीमा सुगम बजार क्षेत्र र वेसी झर्ने क्रम बढेपछि तनहुँको म्याग्दे गाउँपालिका–१ बर्च्याङ गाउँ पनि अहिले युवा विहिन जस्तै बन्दै गएको छ । सदरमुकाम दमौलीबाट करिब ८/९ किलोमिटरको दुरीमा रहेको वच्र्याङ गाउँमा ‘सहभागितामूलक मानहुँ क्षेत्र संरक्षण कार्यक्रम’ सञ्चालनसंगै अन्यत्रा गएकाहरु गाउँ फर्कने अवस्था बन्नुका साथै यहाँका बासिन्दाको जीवनस्तरमा समेत परिवर्तन आउन थालेको छ ।
जैविक कृषि र ग्रामीण पर्यटनका माध्यमबाट सातसय मानहुँ अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ बर्च्याङ क्षेत्रको प्रवर्द्धन कार्यक्रम अगाडि बढाइएसंगै हाम्रो दैनिकी र जीवनस्तरमा परिवर्तन आएको बर्च्याङ माइचुली आमा समुहकी सचिव सावित्री थापा बताउँछिन् ।
पहाडका टाकुरामा छरिएर रहेको मगर समुदायको बस्तिलाई एकीकृत गर्दै ग्रामीण पर्यटन र जैविक कृषि प्रवर्द्धनका कार्यक्रम सञ्चालनसंगै यहाँका बासिन्दाको दैनिकी र जीवनशैलीमा परिवर्तन आएको सचिव थापा बताउँछिन् ।
तनहुँ जलविद्युत आयोजनाको सहयोगमा एक घर एक धारा कार्यक्रम मार्फत लिफ्ट प्रविधि मार्फत प्रत्येक घरघरमा खानेपानीका धारा जडानसंगै व्यवसायिक रुपमा तरकारी खेती तथा पशुचौपाय पाल्ने क्रम बढेसंगै स्थानीयलाई आर्थिक उपार्जन गर्न सहज बनेको छ । सचिव थापाले भनिन्, ‘हामी महिलाहरुलाई पहिला सानो खर्चका लागि पनि श्रीमान तथा घरपरिवारको भर पर्नुपर्ने अवस्था थियो। अहिले हामी व्यवसायिक रुपमा टमाटार खेती, कुखुरा पालनबाट आर्थिक उपार्जन गर्न थालेका छौं ।’
बर्च्याङ गाउँका प्रायः सबै घरधुरीको सहभागिता रहनेगरी उर्जा तथा वातावरण नेपालको आयोजनामा म्याग्दे गाउँपालिका र विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग तथा सम्पदा नेपालको सहजीकरणमा “सहभागितामूलक मानहुँ क्षेत्र संरक्षण कार्यक्रम” सञ्चालनसंगै उजाडिदै गएको ग्रामीण क्षेत्रमा अहिले चहलपहल देखिन थालेको छ ।
बर्च्याङ गाउँ भेलाले दुई वर्षे एकीकृत पर्यटन विकास तथा व्यवस्थापन योजना निर्माणगरी कार्यान्वयनमा ल्याएका छन् । स्थानीय कृषकहरूको जीवनस्तरमा सुधार ल्याउँदै, जैविक कृषि र पर्यटनलाई सँगै अघि बढाउने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाइएको छ । कार्यक्रम सञ्चालनसंगै कृषि उत्पादनलाई वातावरणमैत्री नभई गाउँको समृद्धिका लागि नयाँ अवसरहरू सिर्जना गरेको उर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्णचन्द्र सुवेदीले बताए ।
बर्च्याङका कृषकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन र जैविक कृषि तथा पर्यटनको विकास गर्न आर्थिक २०८०/८१ आर्थिक वर्षदेखि १८ महिने “सहभागितामूलक मनाहुँ क्षेत्र संरक्षण कार्यक्रम” शुरु गरिएको अध्यक्ष सुवेदीले बताए । उनका अनुसार यस कार्यक्रमको उद्देश्य जैविक खेतीको प्रवर्द्धन, ग्रामीण पर्यटनको विकास, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण र जैविक विविधता संरक्षण गर्नु रहेको छ ।
यस कार्यक्रममा स्थानीय २२ जना कृषक जोडिएका छन् । समुहमा जोडिएका कृषकहरुले गोलभेडा खेती र अन्य जैविक उत्पादनको खेती गरी आर्थिक लाभ लिन थालेका छन् । जैविक कृषि प्रचलनमा ल्याउने क्रममा रासायनिक मलको प्रयोगलाई घटाएको र स्थानीयस्तरमै पाइने जडिबुटी, झारपातबाट सस्तो र प्रभावकारी मल तथा विषादीको व्यवस्थापन प्रणाली अपनाएर प्रयोग गर्न थालिएको कृषक बेल बहादुर थापा मगरले बताए ।
उर्जा तथा वातावरण नेपालले गाउँमा कार्यक्रम सञ्चालन गरेसंगै स्थानीयले गोठ सुधार, मल व्यवस्थापन र जैविक खेतीको विकासमा ध्यान दिएको कृषक मगरले बताए । यसका साथसाथै, जैविक उत्पादनको बजार व्यवस्थापन र स्थानीय उपजको खपतलाई प्रवर्द्धन गरी कृषकहरूको आयमा वृद्धि र वातावरणीय संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको उनले बताए ।
यस्तै, बर्च्याङमा ग्रामीण पर्यटनको विकासलाई पनि प्राथमिकताका साथ अगाडि बढाइएको छ । व्यास–५ को मानहुँकोटबाट करिब ४ किलोमिटरको दुरीमा रहेको यस गाउँलाई होमस्टे (घरबास)का रुपमा विकास गर्न थालिएको छ। मानहुँकोट आफैमा पर्यटकीय स्थलको रुपमा बिकास भइरहेको तर त्यहाँ आधुनिक होटलहरु भन्दा ग्रामीण हिसावबाट पर्यटनको बिकास नभएकाले बर्च्याङ गाउँलाई सोही हिसावले विकास गर्न स्थानीयलाई आवश्यक सहयोग गरिएको सम्पदा नेपालका अध्यक्ष एवं पर्यटन विज्ञ हरिसिं गुरुङले बताए ।
‘करिब ८० घरधुरी मगर समुदायको गाउँ, कला संस्कृति भएको तर पछिल्लो समय लोप हुँदै गएको तथा कृषिका लागि पनि उर्वर भूमि भएकाले उत्पादन, वातावरणमैत्री कृषि र दमौली, मानहुकोट आउने पर्यटकलाई यहाँ ल्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ’, अध्यक्ष गुरुङले भने, ‘बर्च्याङलाई ग्रामीण पर्यटन फस्टाउने गाउँका रुपमा हेरेका छौं । ग्रामीण पर्यटक बिकासका गर्न त्यति सजिलो छैन यसमा होमस्टेको कुरा पनि आउँछ र होमस्टे सञ्चालन गर्न त्यति सजिलो छैन । हामीले यहाँ होमस्टे सञ्चालन भन्दा पहिले यहाँको कृषि, उत्पादन, जग्गा र कला संस्कृतिलाई हेर्दाहेर्दै स्थानीयहरुलाई वैज्ञानिक तरिकाले बुझाउँदै अनि बल्ला ग्रामीण पर्यटकलाई गाँसेका छौं ।’
यो कार्यक्रम सञ्चालनसंगै स्थानीयहरुले पहिले कृषि उत्पादन गर्नुपर्ने रहेछ त्यसपछि उद्यमशिल हुनुपर्ने र उत्पादित कृषि उपज बाहिराबाट गाउँमा आउने पाहुँनाहरुलाई खुवाउने र सेवा सत्कार गर्नुपर्ने बुझेपछि होमस्टे सञ्चालनको कार्यक्रम अगाडि बढाइएको बर्च्याङ मगर सामुदायिक होमस्टे सञ्चालक समितिकी कोषाध्यक्ष पदम कुमारी रानाले बताइन । उनका अनुसार गाउँका ८० घरधुरीमध्ये १० घरधुरीमा अहिले होमस्टे सञ्चालन गरिएको छ ।
‘होमस्टेले पाहुनाहरूलाई स्थानीय पारम्परिक खाना खुवाउने, मौलिक नाच र रैथाने संस्कृति अध्ययन तथा अवलोकन गर्ने थलोको रुपमा विकास गर्ने लक्ष्य लिएका छौ’, कोषाध्यक्ष रानाले भनिन्, ‘हामीले आफ्नै खेतबारीमा कोदो, मकै, साग, अचार र स्थानीय रैथाने जातका कुखुरा उत्पादन गरी होमस्टेमा आउने पाहुनालाई खुवाउने तथा कोशेलीका रुपमा उपलब्ध गराउने तयारी गरेका छौं । यो कार्यक्रमले पक्कै पनि हाम्रो अनि गाउँको अर्थतन्त्रमा नयाँ उत्साह ल्याउनुका साथै कृषि उत्पादनको आयमा समेत वृद्धि हुने आशा जगाएको छ ।’
यो कार्यक्रम सञ्चालनसंगै बर्च्याङका महिलाहरूको जीवनशैलीमा समेत परिवर्तन आएको छ । गाउँमा नयाँ मान्छे आउँदा बोल्न हिच्किचाउने, आफ्नो नाम समेत भन्न नसक्ने अवस्था र चुलोचौकोमा मात्र सिमित हुने अवस्था अहिले हट्दै गएको स्थानीय महिलाहरु बताउँछन् । होमस्टे सञ्चालन र कृषि उत्पादनका माध्यमबाट महिलाहरूले आत्मनिर्भरता तर्फ उन्मुख हुँदै जानुका साथै सामाजिक र आर्थिक स्थिति सुधार हुँदै गएको छ ।
महिलाहरू अब आफ्नै आम्दानी गर्न सक्षम भएका छन् र परिवारका लागि आर्थिक रूपले जिम्मेवार बन्ने क्रममा अघि बढेका छन् । यस कार्यक्रमले महिलाहरुलाई कृषि र पर्यटनका क्षेत्रहरूमा सक्रिय बनाएको छ र उनीहरूको आत्मविश्वासमा वृद्धि गराएको युएनडिपीको विश्व वातावरण कोष अन्तर्गत साना अनुदान कार्यक्रमका राष्ट्रिय संयोजक विवेकधर शर्माले बताए ।
युएनडिपीको विश्व वातावरण कोष अन्तर्गत साना अनुदान कार्यक्रम मार्फत प्राविधिक र आर्थिक सहयोग प्रदान गर्दै कृषकहरूलाई जैविक कृषि, जलवायु परिवर्तनका प्रभाव र पर्यावरणीय संरक्षणका विषयमा ज्ञान प्रदान गरी कृषकहरूको दक्षता र उत्पादनशिलता बढाउने काम गरिएको उनले बताए। म्याग्दे गाउँपालिकाले पनि होमस्टे सञ्चालनका लागि आवश्यक संरचनागत सुधार र कृषि प्रविधिहरूको परिचय गराउँदै यस क्षेत्रको समग्र विकासमा सहयोग गरेको छ ।
यस्तै, बर्च्याङको सांस्कृतिक र ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै, स्थानीय मन्दिरहरूको संरक्षण र ग्रामीण पर्यटनको प्रवर्द्धनमा पनि जोड दिइएको उर्जा तथा वातावरण नेपालका अध्यक्ष सुवेदीले बताए। उनका अनुसार मनकामना मन्दिरको संरक्षण र आसपासका पोखरीहरूको मर्मतसम्भार तथा पिक्निक स्पोर्ट निर्माण गरिएको छ। यसले पर्यटकहरूलाई प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरसँग परिचित गराउँदै, ग्रामीण पर्यटनको विकासमा योगदान पुर्‍याउने उनले बताए ।
बर्च्याङको कृषक समुदाय र स्थानीय महिलाहरूले यस कार्यक्रमबाट लाभ उठाउँदै आफ्नो जीवनस्तरमा सुधार गर्न यो कार्यक्रम महत्वपूर्ण बन्ने देखिएको छ। भविष्यमा, यस कार्यक्रमको उद्देश्य जैविक कृषि, पर्यटन र पर्यावरण संरक्षणका साथसाथै आर्थिक आत्मनिर्भरता हासिल गर्नुका साथै होमस्टेका अवसरहरूलाई थप विस्तार गर्दै, अन्य घरधुरीहरूलाई पनि यसमा समावेश गर्नसके मानहुँकोटसंगै बर्च्याङ गाउँको प्रवर्द्धनमा टेवा पुग्ने देखिन्छ ।
वच्र्याङका कृषक, महिलाहरूको संघर्ष र प्रयासले यो कार्यक्रमलाई सफल बनाएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘यो कार्यक्रममा गाउँपालिकाले पनि सहकार्य गरेको छ । ग्रामीण पर्यटन र जैविक कृषिसँगै चलाएर समुदायको सामाजिक र आर्थिक स्थिति सुधार गर्नुका साथै उजाडिएको गाउँबस्तिलाई पुनः हरभर र चलायमान बनाउने गरी हामीपनि अगाडि बढेका छौ ।’
यहाँका कृषक र महिला दिदीबहिनीहरू अब आत्मनिर्भर बन्ने अवस्थामा पुगेको अध्यक्ष श्रेष्ठले बताए । उनले भविष्यमा गाउँको समृद्धिमा थप योगदान पुर्‍याउन यस्ता साझेदारी संस्था र स्थानीय स्रोतहरूको उपयोग गर्दै, बर्च्याङ एक आदर्श नमुना गाउँका साथ अन्य ग्रामीण समुदायलाई पनि मार्गदर्शन गर्न सक्ने गरी कार्यक्रमहरु अगाडि बढाउने बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker