पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ : बन्दिपुरमा आठ हजार पर्यटक आए
भञ्ज्याङ समाचारदाता/दमौली

अंग्रेजी नयाँ वर्ष २०२२ का अवसरमा तनहुँका पर्यटकीय क्षेत्रहरु आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । जिल्लाको बन्दिपुर, टुटेपानी, दमौली लगायतका ग्रामीण पर्यटकीय गन्तव्यहरुमा नयाँ वर्ष मनाउनका लागि आन्तरिक पर्यटकहरु पुगेका छन् । जिल्लामा नयाँ वर्षलाई लक्षित गरी विविध संस्कृतिक कार्यक्रम तथा सडक खाना महोत्सव समेत आयोजना गरिएका कारण यहाँका पर्यटकीय क्षेत्रमा पर्यटकहरुको संख्या बढेको हो । अंग्रेजी नयाँ वर्षको अवसरमा पहाडकी रानी उपनामले परिचित बन्दिपुरमा सांस्कृतिक तथा सडक खाना महोत्सव आयोजना गरिएको थियो । बन्दिपुर बजारको सडकमा पर्यटकलाई खुल्ला आकाशमुनि बसेर स्थानीय उत्पादन खुवाउँदै मनोरञ्जन लिनका लागि सडक खाना महोत्सव आयोजना गरिएको क्षेत्रीय होटल संघ बन्दिपुर बजार इकाईका अध्यक्ष विपिन प्रधानले बताए ।
तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा शुक्रबार र शनिबार आठ हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन् । दुइ दिने खाना महोत्सवमा आठ हजार बढी पर्यटकहरु सहभागि भएका अध्यक्ष प्रधानले बताए । ‘नयाँ वर्षो अवसरमा बन्दिपुरमा आन्तरिक पर्यटक खचाखच भरिए’, उनले भने, ‘विदेशी पर्यटक पाँच/छ जनामात्रै देखिए, बाँकी सबै आन्तरिक पर्यटकले बन्दीपुर भरिभराउ भयो ।’
नयाँ वर्षका कारण दुइतीन दिनदेखि नै बन्दिपुरका होमस्टे तथा होटल बुकिङ भएका थिए । कोरोनाले सिथिल बनेको बन्दिपुरको पर्यटकीय गतिविधि अंग्रेजी नयाँ वर्षको आगमनसंगै चहलपहल बढेको बन्दिपुर सामुदायिक होमस्टेका संस्थापन अध्यक्ष राजु बानियाँले बताए । उनले भने, ‘पछिल्लो समयमा होमस्टेमा पनि पहुँनाको संख्या बढेको छ । कोरोना संक्रमण जोखिम रहेपनि आवश्यक सावधानी अप्नाएर पाहुँनालाई स्वागत् तथा विदाइ गरेका छौं ।’
कोरोना संक्रमणका कारण जिल्लाका होमस्टेहरु करिव दुइ वर्ष बन्द हुन पुगेका थिए । पछिल्लो समय कोरोना विरुद्धको खोप सहज बन्दै गएको र संक्रमणदर पनि कम हुँदै गएका कारण जिल्लाका पर्यटकीय गन्तव्यहरुमा अन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै गएको छ । ‘कोरोनाका कारण थला परेका होमस्टेहरु पनि अहिले विस्तारै लयमा फर्किएका छन्’, बानियाँले भने, ‘लामो समयसम्म बन्द भएको यस होमस्टेमा अहिले दैनिक जसो पाहुँना टुटेका छैनन् । हामी उत्साहित छौं ।’
सडक खाना महोत्सवमा विशेषगरी नेवार, गुरुङ र मगर समुदायको खानाको परिकार राखिएको थियो । महोत्सवले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा सघाउने बन्दिपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले विश्वास व्यक्त गरे । उनले भने, ‘सडक खाना महोत्सव बन्दिपुरको एउटा ब्राण्ड हो । हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै आइरहेको छ । गत वर्ष कोरोना कहरकै बेला पनि सडक खाना महोत्सव गरिएको थियो । अंग्रेजी नयाँ वर्षसँगै नेपाली नयाँ वर्ष र प्रेम दिवसका बेलामा पनि बन्दिपुरमा पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रम गर्दै आएका छौं ।’
भक्तपुरे शैलीमा बनेका इँट्टाका मौलिक घर बन्दिपुरको आकर्षण हो । निकै पुरानो र ऐतिहासिक बन्दीपुर कोलाहलमुक्त छ । यहाँको भीमसेनको मन्दिर, थानीमाई, खड्गदेवी र तीनधारे प्रसिद्ध छन् । अन्नपूर्ण, धवलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ हिमचुचुरा बन्दीपुरको टुँडिखेलबाट अवलोकन गर्न सकिन्छ । विश्वप्रसिद्ध चीनको ग्रेटवालको झल्को दिने गरी बनाइएको मुकुन्देश्वरी पर्खालले पनि आन्तरिक र बाहृय पर्यटकलाई लोभ्याउँछ । बन्दिपुर साहसिक पर्यटक लक्षित साइकल लेनसमेत बनाइएको छ । केबुलकार निर्माणको चरणमा रहेको छ । पर्यटकको बसाइ लम्ब्याउन बन्दिपुर क्षेत्रमा विभिन्न पूर्वाधार थप भइरहेको छ ।
यस्तै, गुरुङ समुदायको संस्कृति र होमस्टेको आतिथ्यतासंग रमाउनका लागि भानु नगरपालिका-१३ स्थित टुटेपानी सामुदायिक होमस्टेमा पनि आन्तरिक पर्यटकहरु पुगेका छन् । गण्डकी प्रदेशकै नमुना होमस्टेका रुपमा बिकास भएको टुटेपानीमा गुरुङ समुदायको पराम्परागत संस्कार, संस्कृति तथा स्थानीय उत्पादनको खानाका परिकारका कारण पाहुँनाहरु लोभिने गर्दछन् । यो होमस्टे प्रकृतिसंग रमाउनेका लागि पनि उत्कृष्ट गन्तव्य भएको होमस्टेका अध्यक्ष क्या. होमबहादुर गुरुङले बताए । उनले भने, ‘कोरोना कहरका कारण बन्द भएको होमस्टे गत मंसिर १४ गतेबाट संचालनमा ल्याएका छौं । पहिलेजस्तो पाहुँनाको आगमन त छैन तर विस्तारै संख्या बढदै गएको छ । हामी स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर पाहुँनालाई स्वागत् गर्ने गरेका छौं ।’
होमस्टे संचालन नहुँदा गाउँका युवाहरु काठमार्र्डौ गएर कोदोको केक, मिठाइ लगायतका स्वादिष्ट खानाका परिकार बनाउने तालिम लिएको बताउँदै अध्यक्ष गुरुङले भने, ‘अहिले गाउँकै उत्पादन कोदो, फापर, मकै लगायतको केक, मिठाइहरु हामीले घरमै बनाउन थालेका छौं । यहाँ आउने पाहुँनालाई गाउँकै उत्पादन खुवाउने र कोसेलीका रुपमा पनि बिक्री बितरण गर्ने गरेका छौं ।’ १६ घरमा संचालन गरिएको होमस्टेमा करिव ६० जना पाहुँना राख्ने क्षमता छ ।
यस्तै, चाडपर्व भित्रिएसंगै थोरै मात्रमा चलायमान भएको पर्यटकीय गतिविति अंग्रेजी नयाँ वर्षको अगमनले थप गति लिने बन्दिपुर पर्यटन विकास समितिका पुर्वअध्यक्ष वैंश गुरुङले बताए । उनले भने, ‘लगभग सबै नागरिकहरु खोपको दायरामा आईसकेका छन्, अब बिस्तारै पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । यसले पर्यटन व्यवसाय क्षेत्रलाई उत्साहित बनाएको छ ।’