ज्येष्ठ नागरिकको अध्यक्षमा सहमति जुटेन
भञ्ज्याङ समाचारदाता/दमौली

ज्येष्ठ नागरिक मिलन केन्द्र दमौलीको नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा सहमति जुट्न नसक्दा अधिवेशन लम्बिएको छ । केन्द्रको अध्यक्ष पदको दाबी गर्दै बर्तमान अध्यक्ष शालिकराम गिरी र रामचन्द्र पण्डितले प्यानल नैं खडा गरी नेतृत्व दाबी गरेका छन् । यस्तै केन्द्रको अध्यक्ष पद दाबी गर्दै राजकुमार श्रेष्ठले एकल उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्षका आकांक्षी तीन जना मैदानमा उत्रिएपछि विहीबार आयोजना गरिएको अधिवेशनले पदाधिकारी चयन गर्न नसकि स्थगित भएको छ । शुक्रबारसम्म सहमतिको प्रयास गर्ने र सहमति नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने केन्द्रले जनाएको छ ।
दमौली स्थित पञ्चमन्दिर हाताभित्र भवन रहेको ज्येष्ठ नागरिक केन्द्रमा ३९८ जना सदस्य रहेका छनु । यस्तै, केन्द्रको पाचौं अधिवेशनलाई सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दमौली र आसपास एउटा मात्रै ज्येष्ठ नागरिक आश्रम भए उत्तम हुने बताउँदै अन्य आश्रमलाई ब्यबस्थित बनाउन जोड दिए ।
ज्येष्ठ नागरिक कोही घरमा अपहेलित छ भने त्यसको लागि नगरपालिकाले सहजिकरण गर्न तयार रहेको बताउँदै प्रमुख न्यौपानले ज्येष्ठ नागरिकका लागि नगरपालिकाले निःशुल्क आँखा उपचार तथा अन्य सेवा सुविधाको व्यवस्था गरेको जानकारी गराए । कार्यक्रममा काशीनाथ न्यौपाने, देवनिधि पन्त लगायतले ज्येष्ठ नागरिकको समाजमा अमूल्य भूमिका रहेको र त्यसलाई नयाँपुस्ताले ग्रहण गर्नुपर्ने बताएका थिए ।










