घिरिङ गाउँपालिका : सुत्केरी र ७५ वर्षमाथिका विपन्नलाई एम्बुलेन्स निःशुल्क

तनहुँको घिरिङ गाउँपालिकाले सुत्केरी र ७५ वर्षमाथिका विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाले खरिद गरी ल्याएको एम्बुलेन्स सेवा विपन्न सुत्केरी, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न नागरिक र दुर्घटनामा परेका घाइतेलाई निःशुल्क प्रदान गरिने भएको हो ।

गाउँपालिकाले एम्बुलेन्स खरिद गरी सुन्धारा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । गाउँपालिकाको गाउँसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार एम्बुलेन्स खरिद गरिएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो ।

गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा निजीस्तरबाट सञ्चालित एम्बुलेन्स र सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स खरिद गरिएको उहाँले बताउनुभयो । दोस्रो लहरको कोरोना सङ्क्रमणका बेला पनि गाउँपालिकामा एम्बुलेन्सको आवश्यकता खड्किएको थियो । “एम्बुलेन्स नहुँदा जनप्रतिनिधिले चढ्ने सवारीमा पनि कोभिड सङ्क्रमित बोक्यौ, तेस्रो लहरको कोरोना आइसकेकाले एम्बुलेन्सको अति आवश्यकता थियो”, उहाँले भन्नुभयो ।

जिल्लाकै तनहुँको आँबुखैरेनी गाउँपालिकाले पनि गत सातादेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को महामारीका बेला खड्किएको आवश्यकतालाई महसुस गर्दै एम्बुलेन्स खरिद गरी ल्याइएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकावासीलाई स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्दा महँगो शुल्क तिर्नुपर्ने बाध्यता अब हट्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले ज्येष्ठ नागरिकलाई एम्बुलेन्स निःशुल्क दिने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स सेवाबाट तनहँुका अतिरिक्त गोरखा र चितवनका स्थानीयवासी लाभान्वित हुनेछन् । यो एम्बुलेन्स सरकारी तवरबाट सञ्चालित हो । आँबुखैरेनीमा निजी क्षेत्रबाट थप तीन एम्बुलेन्स सञ्चालनमा रहेको छ ।

यसअगाडि तनहुँकै व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । स्थानीय तहले सञ्चालनमा ल्याएको एम्बुलेन्सबाट सर्वसाधारणले न्यूनतम मूल्यमा सेवा पाइरहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker