भिमादको जनज्योति क्याम्पसले १७औं वार्षिकोत्सव मनायो

भिमाद : तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसले १७औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले ग्रामीण क्षेत्रका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षा आर्जन गर्ने थलोको रुपमा क्याम्पसलाई विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा प्रतिनिधि सभा सदस्य केदार सिग्देल, भिमाद नगरपालिका नगर प्रमुख दधिराज सुवेदी, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, भिमाद नगरपालिका उपप्रमुख शारदा खनाल, क्याम्पस सञ्चालक समितिका पूर्व उपाध्यक्ष काजीमान श्रेष्ठ लगायतले क्याम्पसको शैक्षिक गुणस्तर सुधार तथा सहज रुपमा समयिक शिक्षा प्रदानका लागि सबैले आ–आफ्नो ठाउँबाट हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले सहजिकरण गरेका थिए ।
यस्तै, उक्त वार्षिकोत्सव समारोहका अवसरमा प्राध्यापक र कर्मचारीहरूलाई उत्कृष्ट कार्यसम्पादनको लागि सम्मानित गरिएको थियो । उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो। स्नातक तह उत्तीर्ण गर्ने १७ जना विद्यार्थीलाई स्नातक उपाधि प्रदान गर्नुका साथै खेलकुदका विभिन्न विधामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार वितरण गरिएको क्याम्पसले जनाएको छ ।
उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष जीतप्रकाश आलेको परिवारले स्व. पदम बहादुर आलेको स्मृतिमा ५ लाख ५ हजार ५५५ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका थिए । पूर्वमन्त्री शंकर भण्डारीले आफ्ना स्व. हजुरबुबाको स्मृतिमा अक्षयकोषमा १ लाख रुपैयाँ थप गरेका थिए ।
सोही अवसरमा क्याम्पस परिसरमा रहेको फूलबारी र बगैंचाको संरक्षण र सरसफाइमा महत्त्वपूर्ण भूमिका निभाएका शहिद पार्क टोल विकास संस्था, आमा समूह र विभिन्न संघ संस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो। विद्यार्थीहरूले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।










