व्यासमा मेयर उपमेयर छात्रछात्रा फुटबल प्रतियोगिता सुरु
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले मेयर उपमेयर छात्रछात्रा फुटबल प्रतियोगिता सुरु गरेको छ । नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको सहभागितामा नगरपालिकाले माध्यमिक विद्यालय स्तरीय मेयर उपमेयर कप फुटबल प्रतियोगिता बिहीबारबाट सुरु गरेको हो ।
व्यास नगरपालिका-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा सञ्चालन गरिएको प्रतियोगिताको गण्डकी प्रदेश सांसद सरिता गुरुङले उद्घाटन गर्दै विद्यालयस्तरदेखि नै बालबालिकामा खेलकुदप्रति प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।
विद्यालय स्तरदेखि नै विद्यार्थीमा खेलप्रतिको रुची बढाउने उद्देश्य सहित नगरपालिकाले विगत वर्षदेखि मेयर तथा उपमेयर फुटबल प्रतियोगिता गर्दै आइरहेको छ । प्रतियोगितामा छात्रतर्फ १४ र छात्रार्तफ चार विद्यालयको सहभागिता रहेको शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख उपसचिव नगेन्द्रप्रसाद रेग्मीले बताए ।
प्रतियोगिता अन्तर्गत बिहीबार छ विद्यालयबीच प्रतिस्पर्धा भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १० हजार नगदका साथै ट्रफी प्रदान गरिनेछ ।
यस्तै, छात्रछात्रा फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार तीन खेल सञ्चालन भएका छन् । उद्घाटनको दिन भएको खेलमा सत्यवती माध्यमिक विद्यालय, वाराही आवासीय माध्यमिक विद्यालय र महेन्द्रज्योति माध्यमिक विद्यालय विजयी भएका छन् ।
सत्यवती माध्यमिक विद्यालय र पराशर कलेजबीच भएको खेलमा सत्यवती ६-१ ले विजयी भएको व्यवस्थापक विद्यालय निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताए । वाराही आवासीय माध्यमिक विद्यालय र शिव पञ्चायन माध्यमिक विद्यालयबीच भएको दोस्रो खेलमा वाराही ३-१ र महेन्द्रज्योति र क्यामिन माध्यमिक विद्यालयबीच भएको तेस्रो खेलमा महेन्द्रज्योति १-० ले विजयी भएको छ ।