शुक्लागण्डकीको शिक्षा नीति : क्यालेन्डर निर्माण गरी शैक्षिक गुणस्तर सुधार र प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने

नारायण खड्का/भञ्ज्याङ

तनहुँको शुक्लागण्डकी नगरपालिकाले विद्यालय शिक्षा सुधार र शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक क्यालेन्डर निर्माण गरी कार्यान्वयनमा ल्याउने नीति अवलम्बन गरेको छ । पालिकाले चालु आवको नीति तथा कार्यक्रममा विद्यालय शिक्षामा एकरूपता ल्याउन तथा शिक्षण सिकाइ, परीक्षा र मूल्याङ्कन पद्धतिलाई समयबद्ध बनाउन शैक्षिक क्लालेन्डर उपयोगी र प्रभावकारी हुँदै आएकाले शैक्षिक क्यालेन्डर तयार गरी सबै विद्यालय, वडा, शाखा र सामुदायिक सिकाइ केन्द्रहरूमा वितरणका लागि आवश्यक व्यवस्था गर्ने भएको छ।

नगरपालिकाले शिक्षा ऐन तथा नियमावलीमा विद्यालय कम्तिमा २२० दिन खुल्नुपर्ने र १९२ दिन पठनपाठन हुनुपर्ने व्यवस्था सुनिश्चित गर्न तजा विद्यालयका शैक्षिक गतिविधिलाई व्यवस्थित गर्ने योजनाका लागि शैक्षिक क्यालेन्डर तयार गरी कार्यान्वयनमा ल्याउने नीति अवलम्बन गरिएको नगरप्रमुख कृष्णराज पण्डितले बताए।

नगरपालिकाले स्थानीय पाठ्यक्रम सहयोगी सामग्री विकास केन्द्रबाट विकास तथा तयार भएका पाठ्यक्रमबाट स्थानीय आवश्यकताको सम्बोधन हुन नसक्ने भएकाले आधारभूत तहको कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्नुपर्ने राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले व्यवस्था गरेको र नगरपालिकाले समेत शैक्षिक सत्र २०८० देखि आधारभूत तह कक्षा १ देखि कक्षा ८ सम्म ‘हाम्रो शुक्लागण्डकी’ नामक स्थानीय विषयको पाठ्यक्रम तयारी गरी कार्यान्वयनमा ल्याएको नगरप्रमुख पण्डितले बताए ।

यस्तै, स्थानीय विषय हाम्रो शुक्लागण्डकी अध्यापन गर्ने शिक्षकहरूका लागि तथ्य, तथ्याङ्क र सूचनाका स्रोत उपलब्ध गराइ सिकाइमा सहजीकरण गर्न सहयोगी सामग्री विकास गरी उनीहरूका हातमा पुर्‍याउन अत्यावश्यक भएकाले पाठ्यक्रममा आवश्यक परिमार्जन सहित सहयोगी सामग्रीका लागि आवश्यक व्यवस्था गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको छ ।

शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार एवं संविधान प्रदत्त मौलिक हकलाई व्यावहारमा कार्यान्वयन गरी शिक्षालाई लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माणमा केन्द्रित गर्दै शिक्षामा सबैको सहज एवं समतामूलक पहुँच र निरन्तरता सुनिश्चित गर्न तथा शिक्षालाई व्यापक, जीवनोपयोगी, प्रतिष्पर्धि एवं गुणस्तरीय बनाउने नगरपालिकाले शिक्षा नीति अवलम्बन गरेको छ ।

बालबालिकाहरूको विद्यालय तयारी र उनीहरूको सर्वाङ्गिण विकासमा बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरूको महत्वपूर्ण भूमिका रहने हुँदा एक विद्यालय एक बाल विकास केन्द्रको व्यवस्था गर्ने नीति लिइएको नगरप्रमुख पण्डितले जानकारी गराए ।

नगरपालिका क्षेत्रभित्र ससर्त अनुदान पाउने ३९ र नगरपालिकाको आफ्नै स्रोतबाट व्यवस्था भएका समेत ४५ जना सहयोगी कार्यकर्ता कार्यरत रहेका। विद्यालयको प्रशासनिक र लेखा व्यवस्थाको लागि प्रत्येक माध्यमिक विद्यालयमा एक जना विद्यालय सहायक र सहयोगीको रूपमा प्रत्येक सामुदायिक विद्यालयमा एक जना विद्यालय सहयोगी रहने व्यवस्था गरिएको हुँदा अनौपचारिक शिक्षाको माध्यमबाट साक्षर बनाउने, आर्यआर्जन र अन्य सामुदायिक विकास र सुधारका क्षेत्रका कार्यका लागि स्थापित सामुदायिक सिकाइ केन्द्रहरूमा सहयोगीको रूपमा एक/एक जना परिचालिका रहने व्यवस्था गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित दुलेगौंडा बजार । तस्विर : भञ्ज्याङ

शिक्षक कर्मचारीहरूको पारिश्रमिक स्वरूप केही रकम मात्र संघीय सरकारबाट प्राप्त हुने र न्यूनतम पारिश्रमिक समेत पूरा नहुने भएकाले न्यूनतम पारिश्रमिक पूरा गर्ने दायित्व यस नगरपालिकामा निहित रहेकोमा विगतका वर्षेखि नै नगरपालिकाले न्यूनतम पारिश्रमिकको व्यवस्था गर्दै आएको छ । यस वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिंदै कर्मचारीहरूलाई प्रोत्साहित गर्न काम प्रति अझ बढी जिम्मेवारी बनाउन ४५ बाल विकास केन्द्रका सबै सहयोगी कार्यकर्ताहरूका लागि पारिश्रमिकको निरन्तरता दिई आवश्यक रकम विनियोजन गरिएको नगरप्रमुख पण्डितले जानकारी गराए।

यस्तै, नगरपालिकाले सट्टा शिक्षकको व्यवस्था पनि गरेको छ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ मा सरकारी, गैर सरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई सुत्केरी हुनु अघि वा पछि ९८ दिनसम्मको तलव सहितको प्रसूति बिदा पाउने व्यवस्था अनुसार विद्यालयहरूमा महिला शिक्षक र सहयोगी कार्यकर्ता प्रसूति बिदामा बस्दा कक्षा खाली नराख्ने नीति अनुसार प्रसूति बिदा सट्टा शिक्षक व्यवस्थापन कार्यविधि २०७६ जारी गरी कार्यान्वयन गर्दै आएको छ । कार्यविधि बमोजिम हुने गरी आगामी आर्थिक वर्षा समेत यस कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिईएको छ ।

नगर शिक्षा ऐन २०७५ ले नगर शिक्षा समितिको व्यवस्था गरेको र नगर क्षेत्रभित्र सञ्चालन हुने विद्यालय तथा शैक्षिक निकायहरूको रेखदेख, समन्वय र व्यवस्थापनको जिम्मेवारी नगर शिक्षा समितिलाई दिएको हुँदा नगर शिक्षा समितिको नियमित बैठक सञ्चालन तथा विद्यालय शिक्षाका गतिविधिहरूलाई एकरूपता, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न नियमित रूपमा सामुदायिक तथा संस्थागत विद्यालयहरूको नियमित मासिक बैठक सञ्चालन गर्न आवश्यक रहेको र सो बमोजिम हुँदै आएको यस प्रकारको बैठकमा खाना, खाजा, स्टेशनरी र बैठक भत्तामा खर्च, नगर शिक्षा समिति र प्रधानाध्यापकको नियमित लगायत अन्य आवश्यक बैठक थप प्रभावकारी बनाउने गरी आवश्यक खर्च व्यवस्थापन गरिएको छ ।

आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन र व्यवस्थापनका लागि आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) सञ्चालन, व्यवस्थापन र मूल्याङ्कन गरी ग्रेड सीट र प्रमाणपत्र उपलब्ध गराउने जिम्मेवारी आधारभूत शिक्षा उत्तीर्ण परीक्षा समितिमा रहेको हुँदा परीक्षा सञ्चालन र व्यवस्थापनमा संघीय सरकारबाट उपलब्ध प्रति विद्यार्थी रकमबाट व्यवस्थित र प्रभावकारी हुने नसकेको विगतको अनुभवलाई मध्यनजर गरी यसका लागि आवश्यक रकमको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै, प्रश्नपत्र निर्माण कार्यशाला (कक्षा ५ र ८) विद्यार्थी मूल्याड्कनका लागि परीक्षा एक साधन हो । विद्यार्थीको सिकाइको मूल्याङ्कन विभिन्न आवधिक परीक्षाबाट समेत गर्ने व्यवस्था रहेको छ । आवधिक परीक्षा सञ्चालन गर्दा सम्बन्धित विषय शिक्षकहरूले पाठ्यक्रमले निर्दिष्ट गरेको विशिष्टीकरण तालिकाको प्रयोग अनिवार्य गर्नुपर्ने हुँदा कतिपय विद्यालयका शिक्षकहरूले विशिष्टिकरण तालिकाको प्रयोग गरी प्रश्नपत्र निर्माण गरेको नपाइएको र विद्यार्थी सिकाइको सही मूल्याङ्कन हुने नसकेको अनुभव विद्यालय अनुगमनबाट पाइएको हुँदा परीक्षामा सोधिने प्रश्नपत्र विद्यार्थीको सिकाइको मूल्याङ्कनका लागि उपयुक्त हुने गरी निर्माण गर्न र प्रश्नपत्र बैंक स्थापना गर्न कक्षा ५ र कक्षा ८ का विषय शिक्षकहरूका लागि २ दिने कार्यशाला सञ्चालनका लागि बजेट व्यवस्था गरेको छ ।

हरेक बालक विशिष्ट हुनेहुँदा उनीहरूमा रहेको प्रतिभा प्रस्फुटन कक्षा कोठामा सिमित गर्न नसकिने हुँदा उनीहरूको क्षमता र प्रतिभा प्रस्फुटनका लागि अवसरको सृजना गर्न आवश्यक रहेकाले विद्यालयमा हुने विभिन्न कार्यक्रमहरूमा बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि शैक्षिक क्यालेन्डरमै कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याउने नीति नगरपालिकाले अवलम्बन गरेको छ । विभिन्न तहका विद्यार्थीहरूको नगरपालिका स्तरमा सञ्चालन गरिने प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने भएको छ ।

शिक्षा प्राप्त गर्ने अधिकार संविधानद्वारा प्रदत्त गरिएको भएपनि विपन्न, दलित, अल्पसंख्यक, द्वन्द्व पीडित, वैदेशिक रोजगारीबाट पीडित भएका अभिभावकका छोराछोरीहरूको शिक्षामा पहुँच नपुगेको र विद्यालय शिक्षाको निरन्तरता सुनिश्चितता हुन नसकेको हुँदा यस प्रकारका बालबालिकाहरूलाई आधारभूत तहको शिक्षा सुनिश्चितताका लागि कार्यविधि बनाइ छात्रवृत्ति वितरण गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको छ ।

विद्यालय शिक्षा पाठ्यक्रम परिमार्जनको क्रममा चालू शैक्षिक सत्र २०८० मा कक्षा ५ र कक्षा ८ मा पाठ्यक्रम परिमार्जन भई नयाँ पाठ्यक्रम लागू गरिएको हुँदा परिवर्तित पाठ्यक्रम अनुरूप शिक्षण सिकाइ र विद्यार्थी मूल्याङ्कन प्रणालीबारे शिक्षकहरूलाई प्रशिक्षित गराउन नसक्दा कक्षाकोठाको शिक्षण सिकाइ प्रभावकारी हुन नसकिरहेको अनुभव र शिक्षक वर्गको माग समेतलाई मध्यनजर गरी कक्षा ५ र ८ का सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरूका लागि पाठ्यक्रम प्रबोधीकरण सञ्चालन गरिने भएको छ ।

बाल विकास सहजकर्ता क्षमता विकास कार्यक्रम अन्तर्गत विद्यालय भर्ना हुनु अगाडि बालबालिकाहरूलाई विद्यालयको पूर्व तयारी गराउने र पाठ्यक्रमले तोकेबमोजिम क्रियाकलाप सञ्चालन गरी उनीहरूको सर्वाङ्गिण विकासमा टेवा पुर्‍याउने भूमिका सहयोगी कार्यकर्ताको भएको हुँदा नगरपालिका क्षेत्रभित्रका अधिकांश सहयोगी कार्यकर्ताहरू उक्त तालिमबाट विमुख नगर्राई आगामि दिनमा सबै बाल विकास सहजकर्ताहरूका लागि पाँच दिने आवासीय तालिम सञ्चालन गरिने भएको छ ।

यस्तै, शुक्लागण्डकी नगरपालिकाबाट शुक्लागण्डकी खेलकुद निर्देशिका २०७५ जारी गरी कार्यान्वयनमा ल्याएको छ । विकास अनुशासन र गतिशिलताको पर्यायका रूपमा रहेको खेलकुद क्षेत्र स्वस्थ, मर्यादित र प्रतिष्पर्धाबाट सञ्चालन गरी आपसी विश्वास, सहकार्य, समन्वय र एकता यसको मूल ध्येय भएको हुँदा विद्यालय तथा वडा तहमा खेलकुद पूर्वाधार तयार गरी नियमित खेलकुदका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता लगायतका खेलकुद प्रतियोगिता सम्पन्न गर्दै आएको र खेलकुदका कार्यक्रमहरूलाई प्रोत्साहन गर्दै आएको छ । समुदाय स्तरमा रहेका विद्यालय, युवा क्लब र अन्य सम्बन्धित संस्थाहरूलाई सहभागी गराइ सम्बन्धित वडाको संयोजनमा एक वडामा कम्तिमा एक खेलकुद कार्यक्रम सञ्चालन गर्न खेलकुद कार्यक्रम सञ्चालन गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको छ ।

नगरपालिकाले सामुदायिक विद्यालयको व्यवस्थापकीय पक्षको सुधार, भौतिक पूर्वाधारको विकास र विस्तार, प्रधानाध्यापक र शिक्षकको क्षमता अभिवृद्धि कक्षाकोठामा सूचना तथा संचार प्रविधिको पहुच बृद्धि लगायतका गुणस्तरीय शिक्षाका मापदण्डको विकास गरी शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker