स्थानीय निर्वाचनले तनहुँमा चहलपहल बढ्यो, उम्मेदवार घरदैलो र चुनावी सभामा केन्द्रित

भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न स्थानीय निर्वाचनको मिति नजिकिएसंगै तनहुँमा चुनावी गतिविधिले चहलपहल बढाएको छ । वैशाखको गर्मीसंगै चुनावी माहोलले तनहुँको जनजीवनलाई पनि चहलपहल बनाउँदै तताएको छ । जिल्लाको चार नगरपालिका र छ गाउँपालिकाको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य पद दावागर्ने दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु अहिले चुनावी गतिविधिमा होमिएका छन् ।

तनहुँको भानु, व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका, देवघाट, आँवुखैरेनी, बन्दिपुर, म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिकाको ४४५ पदका राष्ट्रिय मान्यता प्राप्त छ, स्थानीय १७ गरी २३ राजनीतिक दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउने गरी १ हजार ६३६ जना उम्मेदवारहरु अहिले चुनावी मैदानमा उत्रिएका छन् । तनहुँको १० वटै पालिका यतिबेला निर्वाचनमय भएका छन् । दलबलसहित यहाँका वडादेखि पालिकाका उम्मेदवारहरु खेतबारी, गठालासम्म पुगेर मत माग्न सक्रिय छन् ।

जिल्लामा क्रियाशील प्रमुखदेखि सबैजसो पार्टीका उम्मेदवार आ-आफ्नो पक्षमा जनमत बटुल्न प्रतिबद्धतापत्रदेखि विगतमा गरेका कामको दस्तावेजसहित घरदैलो अभियानमा जुटेका छन् । उम्मेदवारसँगै केन्द्रीय नेतासमेत घरदैलो अभियानमा मत माग्दै हिँडेका छन् ।

स्थानीय तहको निर्वाचन पनि हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राखेर नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, जनमोर्चा, विवेकशिल साँझ लगायत दलका केन्द्रीयस्तरका नेता समेत यतिबेला घरदैलो गरिरहेका छन् ।

प्रतिनिधिसभा सदस्यहरु, राष्ट्रिय सभा सदस्यहरु तथा विभिन्न दलका केन्द्रियस्तरका नेताहरु पालिकाको निर्वाचनका माध्यमबाट नागरिकको घरदैलोमा पुगेका छन् । नेताहरु पार्टी गतिविधि र चुनावका बेला नै नागरिकसित भेटघाटको अवसर मिल्ने भएको राष्ट्रिय सभा सदस्य भगवती न्यौपानले बताइन् ।

आफ्नो गृहजिल्लाको भानु नगरपालिकामा नेकपा एमाले र जोशी समुहका उम्मेदवारहरुको पक्षमा मत माग्दै चुनावी अभियानमा उत्रिएकी सांसद न्यौपानेले अहिले मतदाताले युवा रोजगारीको विषयलाई प्राथमिकताका साथ उठान गरिरहेको बताइन् । युवाहरुको आवश्यकता र मागलाई सम्बोधन गर्ने गरी अहिले आफ्नो पार्टीले चुनावी प्रतिवद्धता र ती प्रतिवद्धता कार्यान्वयन गर्ने गरी योजनाका साथ अगाडि बढेको उनले बताइन् ।
यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ पनि अहिले जिल्लामा पार्टीको चुनावी गतिविधिमा सक्रिय छन् । जिल्लाका १० वटै पालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु तथा आंशिक रुपमा गठबन्धन भएका पालिकामा गठबन्धन दलका उम्मेदवारहरु संयुक्त रुपमा चुनावी गतिविधिमा सहभागि भएका छन् ।

अघिल्लो साता उम्मेदवारी मनोनयन दर्ता पश्चात शनिबार निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिन्ह पाएसंगै तनहुँमा चुनावी सरगर्मी हृवात्तै बढेको छ । गाउँ शहर जताततै निर्वाचनको माहोल देखिएको छ । उम्मेद्वारहरुले भोट माग्न घरदैलो गरिरहेका छन् । सवारी साधानमा स्पिकर, पार्टीका चुनाव चिन्ह अंकित झण्डा तथा पार्टीको एजेण्डा सहितको चुनावी गित घन्काउदै मतदाता रिझाउनमा दलहरु गाउँ पसेका छन् ।
गाउँदेखि बजारसम्म मतदाताले नमस्कारको अभिवादन पाईरहेका छन् । कोही उम्मेद्वार ढोग्दै आर्शिवाद मागिरहेका तस्विरहरु पनि सामाजिक सञ्जालमा देखिन थालेका छन् । घरमा मात्रै नभएर खेत बारीमा काम गरिरहेका मतदातालाई पनि भेट्नलाई उम्मेद्वार पुगेका छन् । बाटोमा भारी बोक्दै गरेका भरिया, गोठाला तथा घर कुरेर बसेका वृद्धवृद्धालाई भेटेर उम्मेद्वारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्न थालेका छन् ।

यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जन्मगाउँ बाहुनपोखरामा नेकपा एमाले-जोशी समूहले घरदैलो गरेको छ । व्यास नगरपालिका-८ बाहुनपोखरामा एमाले-जोशी समूहबाट मेयरका उम्मेदवार दीपकराज जोशी र उपमेयरका उम्मेदवार बसुन्धरा र्घर्तीले सोमबार घरदैलो गरेका हुन् । उम्मेदवारहरुले उक्त वडाका बाहुनपोखरा, गाडापानी, रिस्ती, पुलिमराङ लगायतका ठाउँमा जनतासँग भेटघाट गर्दै मत दिन आग्रह गरेका थिए ।

नेकपा एमालेको तर्फबाट शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका मुक्ति तिम्लिसिना र उमपेयरकी उम्मेद्वार फुलमाया वाग्ले मतादाता भेट्दै गाउँगाउँ पुग्न थालेका छन् । जनताको मागलाई सम्बोधन गर्दै मेयरका उम्मेद्वार तिम्लिसिनाले शुक्लागण्डकीमा अब नेकपा एमालेले जितेपछि विकासले फड्को मार्ने बताए । उनले रित्तिएको गाउँलाई शहर गएकाहरु र्फकने गरेर बिकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने, ग्रामीण सडक स्तरोन्नती गर्ने, खानेपानीका समस्यालाई समाधान गर्दै पर्यटकीय सम्भावना बोकेका स्थानहरुको पहिचान गर्ने उनले उद्घोष गरेका छन् । उपमेयरकी उम्मेद्वार वाग्लेले आमा समुह, युवा क्बललाई उत्साहजनक सहयोग गर्ने बताईन ।

ग्रामीण भेगका किसानलाई सहयोग गर्ने उनको भनाई छ । घरदैलो कार्यक्रममा उम्मेद्वारसँगै शुक्लागण्डकी नगरपालिकाका प्रभावशाली एमाले नेताहरु समेत सहभागी थिए । एमालेका उम्मेद्वारहरुले सोमबार फिरफिरे क्षेत्रका मतदाता भेट्ने तथा घारी, लिलाचोक, जसपुर, लामागाउँ, घरेडीका जनतासँग साक्षत्कार गरेको छ ।

त्यस्तै, गठबन्धन पश्चात् तनहुँको देवघाटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र घरदैलो कार्यक्रममा व्यस्त छन् । आइतबारबाट सुरू भएको घरदैलो कार्यक्रम साँढेबगरबाट सुरू हुँदै क्वादी, बगन्दी, साउनेसम्म घरदैलो कार्यक्रम गरेको थियो । सोमबार देवपुर नयाँवस्ती वरपर घरदैलो कार्यक्रम गरिएको वडा नम्बर ५ का वडाध्यक्ष उम्मेदवार पुर्ण बहादुर कुवंरले बताए ।


जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार १० स्थानीय तहको ८५ वडामा १ हजार ६३६ उम्मेद्वारले प्रतिष्पर्धामा उत्रिएका छन् । कार्यालयका प्रमुख हरि ढकालका अनुसार चार नगरपालिकाको मेयरमा २८ जना र उपमेयरमा २१ जना चुनावी मैदानमा होमिएका छन् । छ गाउँपालिकाको अध्यक्षमा ३२ र उपाध्यक्षमा ३१ जनाले प्रतिष्पर्धा गर्नेछन् ।

८५ वडाको वडाध्यक्षमा ३६० जनाले प्रतिष्पर्धा गर्दैछन् । १७० खुला वडा सदस्य निर्वाचित हुनेमा ६०३ जनाको उम्मेद्वारी परेको छ । महिला वडा सदस्यमा २८६ र दलित महिला सदस्यमा २७५ जनाको उम्मेद्वारी परेको छ । उम्मेद्वारी दिएका मध्य ८० जना स्वतन्त्र उम्मेद्वार छन् ।

अघिल्लो पटकको स्थानीय निर्वाचनमा जिल्लामा १ हजार ५८२ जनाले चुनावी प्रतिष्पर्धा गरेका थिए । जिल्लामा २ लाख ४४ हजार ३४० मतदाताले नगरपालिका, गााउँपालिका र वडा हाँक्ने नेतृत्व चयन गर्दैछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker