आँवुखैरेनीका नवनिर्वाचित चुमान तनहुँका कान्छो अध्यक्ष
भञ्ज्याङ समाचारदाता/आँबुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष शुक्र चुमान जिल्लाकै कान्छो अध्यक्ष बनेका छन् । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामध्ये आँबुखैरेनीका नवनिर्वाचित अध्यक्ष चुमान कान्छो हुन् । ३५ वर्षीय चुमानले नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिएर निर्वाचित भएका हुन् ।
कान्छो उम्मेद्वार चुमानले लोकप्रिय मत प्राप्त गरी बिजयी भएका छन् । गाउँपालिकामा करिव ९ हजार २७८ मत खसेकोमा चुमानले ३ हजार ९४० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले २ हजार २३० मत प्राप्त गरे । चुमानले १ हजार ७१० मतान्तरले थापालाई पराजित गरेका हुन् । थापा निवर्तमान अध्यक्ष पनि हुन् ।
नवनिर्वचित अध्यक्षले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, सडक तथा पुर्वाधार, कृषि, खेलकुद लगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धताका साथ चुनावमा होमिएका थिए । नवनिर्वाचित अध्यक्ष चुमानले जनताको आधारभूत आवश्यकताका साथै सुशासन, प्रशासकीय विभाग, भूमि लगायतका क्षेत्रमा पनि काम गरी जनतालाई गाउँपालिकाबाट सेवा लिन सहज वातावरण सिर्जना गर्ने बताए ।
यस्तै आँबुखैरेनीको वडा नम्बर २ मा माओवादी केन्द्रबाट २९ वर्षीय आसबहादुर गुरुङ, वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट ३२ वर्षीय दिनेश के.सी, वडा नम्बर ५ मा माओवादी केन्द्रबाट ३२ वर्षीय सन्तोष गुरुङ र वडा नम्बर ६ मा नेकपा एमालेबाट ३१ वर्षीय दिलिप गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै, ऋषिङ-२ मा कांग्रेसबाट ३४ वर्षीय दलबहादुर थापा, घिरिङ-५ मा कांग्रेसबाट ३४ वर्षीय विष्णुबिर आले, देवघाट-४ मा एमालेबाट २९ वर्षीय मित्रलाल गुरुङ र बन्दिपुर-२ मा माओवादी केन्द्रबाट ३० वर्षीय तिलकबहादुर कुँवर वडाध्यक्षमा निर्वाचित भएका छन् ।










