तनहुँ समाज हङकङद्वारा मृगौला पीडित महिलालाई आर्थिक सहयोग
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे-५ मुलाबारीकी ४४ वर्षीया नरमाया थापालाई आर्थिक सहयोग गरिएको छ । केही समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित बनेकी थापालाई मुलाबारीका युवाहरु र तनहुँ समाज हङकङबाट थापाको उपचार्रार्थ आर्थिक सहयोग प्राप्त भएको थियो। संकलित रकम पीडित थापालाई बुधवार खैरेनीटारमा गंगा बहादुर थापा र तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष भीमराज गुरुङले हस्तान्तरण गरेका छन् । स्थानीय गंगा बहादुर थापाको पहलमा दुइ चरणमा गरी संकलन भएको ६ लाख ९६२ रुपैयाँ थापालाई हस्तान्तरण गरिएको छ ।
पहिलो चरणमा ३ लाख ५३ हजार ४२५ रुपैयाँ र २ लाख ४७ हजार ५३७ गरी जम्मा ६ लाख ९६२ नगद सहयोग गरेको थापाले जानकारी दिए । ‘नरमायाका श्रीमान हिमबहादुर थापाबाट पत्नी बिरामी भएको खबर पाएपछि ०७८ चैतदेखि हामीले नरमाया बचाउ अभियान थालेका हौं’ उनले भने । यस अभियानमा भुरुङ्गे मगर समाज लगायत ८२ जना स्थानीयहरुले सहयोग गरेको थापाले जानकारी दिए । त्यस्तै तनहुँ समाज हङकङका सांस्कृतिक संयोजक विपिन थापाको संयोजकत्वमा संकलन भएको रकम पनि बुधबार पीडित थापालाई हस्तान्तरण गरिएको छ । विभिन्न सिलसिलामा हङकङ पुगेका ४१ जना नेपालीहरुको सहयोगबाट संकलन भएको २ लाख ९ हजार ४३० रुपैयाँ थापालाई हस्तान्तरण गरिएको हो ।
उक्त रकम तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भिमराज गुरुङले हस्तान्तरण गर्दै रकमको सदुपयोग हुने विश्वास व्यक्त गरे। हङकङ निवासी तनहुँका दाजुभाइ दिदीबहिनीहरुले आफ्नो ठाउँमा विपद् परेका बेला विगत देखि नै सहयोग गर्दै आएको गुरुङले बताए।
२०७८/०७९ सालदेखि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित बनेकी ४४ वर्षीया थापाको मृगौला प्रत्यारोपण गर्न चिसित्सकहरुले सल्लाह दिएका छन् । केही दिनमै उनको प्लामा थेरापी विधिद्वारा दुबै मृगौला प्रत्यारोपण गरिने उनका श्रीमानले जानकारी दिए । त्यसका लागि २५ देखि ३० लाख रुपैयाँसम्म खर्च लाग्ने उनले बताए। उनले भने ‘केही रकम आफैले व्यवस्थापन गरेको छु, केही आफन्तबाट र केही त्यस्तै सहयोगी दाताहरुबाट सहयोग रकम प्राप्त भएको छ ।
तनहुँमा बिगतदेखि नै समाजिक सेवा गर्दै आएको समाजले नेपाली दुःख पीडामा परेको खबर आउना साथ हङकङमा विभिन्न सिलसिलामा पुगेका नेपालीहरुसँग समन्वय गरी आफ्नो कमाइबाटै सहयोग रकम पठाउदै आएको तनहुँ समाज हङकङका कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिए । समाजले भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धी पूर्वाधार बिकास तथा प्रवर्द्धनमा समेत योगदान गरेको काफ्लेले बताए ।










