लुतो फालेर मनाइयो साउने(कर्कट) संक्रान्ति

भञ्ज्याङ समाचारदाता/दमौली

असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छाला रोग नलागोस् भन्ने कामनाले आज साँझ घरघरमा लुतो फालिएको छ । नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ । यसलाई लुतो फाल्ने भनिन्छ । यो विधि साउने संक्रान्तिको बेलुकी सम्पन्न गरिन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

लुतो फाल्दा आ-आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्ति पर्व मनाइएको हो ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाउने गरिन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाएका छन् । साउन महिनालाई विशेषरूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ ।

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताउनुभयो । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गरेको हो ।

यस अवसरमा पशुपतिनाथ मन्दिरमा आइतबार बिहानैदेखि भक्तजनको भीड लागेको छ । विगतका दुइ वर्ष कोरोनाका कारण भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाइएको थियो । साउन २ गते यस वर्षको पहिलो सोमबार परेकाले भक्तजनका लागि विशेष तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker