तनहुँमा डेंगु संक्रमण देखिएसंगै पालिकाहरुले चलाए लामखुट्टे खोज र नष्ट गर अभियान
भञ्ज्याङ समाचारदाता/तनहुँ

डेंगु संक्रमणको जोखिम बढेपछि तनहुँका स्थानीय तहले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । व्यास नगरपालिकाले डेंगु नियन्त्रणका लागि अभियान चलाउने तयारी गरेको छ । केही समययता तीव्र गतिमा फैलिएको डेंगु नियन्त्रणका लागि नगरपालिकाले प्रत्येक शनिबार ‘१० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न लागेको हो ।
‘सबै जागौ, सबै लागौ : वरिपरि जमेको पानी हटाइ डेंगु भगाऔ’ नाराका साथ डेंगु नियन्त्रणका लागि लामखुट्टेले फूल पार्ने ठाउँको खोजी गरिने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । लामखुट्टेले फूल पार्ने ठाउँ खोजे । नष्ट गर्न हरेक वडामा अभियान सञ्चालन हुने सोतीले बताए ।
यस्तै, आँवुखैरेनी गाउँपालिकाले ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । नेपालका विभिन्न ठाउँमा डेंगुको संक्रमण बढ्दै गएकाले सतर्कताका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए ।
डेंगुको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै गाउँपालिकाले प्रदेश र जिल्लासँगको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।
डेंगुका बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण भइरहेको र विभिन्नस्तरमा डेंगु नियन्त्रणका उपायका बारेमा विशेषज्ञसँग नियमित बैठक गरिएको उपाध्यायले बताए । ‘डेंगु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्राय दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ’, उपाध्यायले भने, ‘यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य गरिएको छ ।’
यस्तै, बन्दिपुर गाउँपालिकाले पनि डेंगु संक्रमण रोकथाम तथा न्यूनिकरणको अभियान चलाउने तयारी गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइले बताए । उनले भने, ‘गाउँपालिकामा अहिलेसम्म ७ जनामा डेंगु संक्रमण देखिएको छ । मिल्दाजुल्दा लक्षण देखिएका विरामीहरु भेटिएको हुँदा परीक्षणका लागि आवश्यक किट ल्याउने तयारी भएको छ ।’
शाखा प्रमुख भट्टराइका अनुसार गाउँपालिकाले टोलटोल, वडावडामा डेंगु संक्रमण रोकथामका लागि घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँ खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, संघसंस्था, टोलविकास समितिलाई सहकार्यका लागि गाउँपालिकाले आग्रह गरेको छ ।
तनहुँमा ८८ जनामा डेंगु संक्रमण देखिएको छ । देशभर फैलिरहेको डेंगुको प्रकोप तनहुँमा पनि पछिल्लो केही दिन यता बढ्दै गएको छ। लामखुट्टेको टोकाइबाट हुने डेंगुको जोखिम बढ्दै स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
डेंगुको संक्रमणपश्चात् जिल्लास्थित अस्पतालमा भर्ना भएर उपचार गराउनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालय तनहुँले पत्रकार सम्मेलन गरी जिल्लामा डेंगुको संक्रमण फैलन थालेको जनाएको छ । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार जिल्लामा शुक्रबारसम्म ८८ जनामा संक्रमण भएको तथ्याङ्क प्राप्त भएको छ ।
शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गरिएकामध्ये ७८ जनामा डेंगु पुष्टि भएको छ । भदौमा २१८ जनाको डेंगु परीक्षण गरिएकामा ७८ जनामा संक्रमण देखिएको बताइएको छ । संक्रमित मध्ये २७ जना निको भएका छन् ।
स्वास्थ्य कार्यालय तनहुँका अनुसार बन्दिपुर गाउँपालिकामा ७ जनामा डेंगु संक्रमण देखिएकामा ४ जना निको भएका छन् भने दमौली अस्पतालमा ३ जनामा संक्रमण देखिएकोमा १ जना निको भएका छन् । जिल्लाका नीजि स्वास्थ्य संस्थाहरुमा पनि डेंगुका विरामी उपचारका लागि आउने गरेको भएपनि त्यसको आधिकारिक तथ्याङ्क प्राप्त हुन नसकेको प्रमुख अधिकारीले बताए ।
स्वास्थ्य कार्यालय तनहुँले डेंगुको जिल्लाभरको यकीन तथ्याङ्क नरहेको जनाएको छ । कार्यालय प्रमुख अधिकारीले जिल्लास्थित अस्पताल तथा स्वास्थ्य संस्थासँग डेंगुका बिरामी भएको भए तथ्याङ्क पठाउन अनुरोध गरिएको बताए ।
लामखुट्टेको टोकाइबाट डेंगु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको प्रमुख अधिकारीले बताए । उनले भने, ‘डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । आजकल डेंगु ज्वरो नेपालको विभिन्न भागमा देखा परिरहेको छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र वर्षात्को मौसम सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।’
एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण भएको चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकका अनुसार डेंगुबाट जोगिनका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।










