तनहुँको भानु नगरपालिकामा मतदाना शिक्षा अभिमुखीकरण कार्यक्रम
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकामा नगरस्तरीय मतदाता शिक्षा अभिमुखीकरण कार्यक्रम गरिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगबाट जारी मतदाता शिक्षा कार्यक्रम निर्देशिका बमोजिम भानुका १३ वटै वडाका एक/एक जना स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले मतदाताले सुरक्षित रुपमा आफ्नो मतदाधिकार प्रयोग गर्ने वातावरण बनाउन सबै जिम्मेवार बन्नुपर्ने बताए । नगर प्रमुख त्रिपाठीले मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि छनोट हुनुभएका स्वास्थ्य स्वयंसेविकाहरुका लागि यो महत्वपूर्ण अवसर भएको र यसलाई उहाँहरुले कुशलतापूर्वक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
मतदाता शिक्षा सम्बन्धी स्थानीय समन्वय समितिका संयोजक एवं प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडाको संयोजकत्वमा आयोजित कार्यक्रममा नगर शिक्षा अधिकारी एवं स्थानीय अनुगमन अधिकृत (निर्वाचन फोकल पर्सन) ध्रुवराज पौडेलले मतदाता शिक्षा के, किन र कसरी सञ्चालन गर्ने सम्बन्धमा निर्देशिकाका विविध पक्षका विषयमा सहजिकरण गरेका थिए ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचन प्रक्रिया र स्वयंसेवकहरुको भूमिकाका विषयमा जानकारी गारएका थिए । उनले कार्यक्रमको मूल उद्देश्य भनेको बढी भन्दा बढी मतदातालाई निर्वाचनमा सहभागी गराउने र बदर मतलाई न्यूनीकरण गर्नु रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागि स्वयंसेवीकाहरुलाई आवश्यक मतदाता शिक्षा सामग्रीहरु वितरण गरिएको थियो । भानुका १३ वटै वडामा यहि मिति २०७९ कार्तिक १८ देखि मंसिर १ गते सम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।










