निर्वाचनपछि पनि गठबन्धन सरकार : कांग्रेस नेता पौडेल
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने बताएका छन् । तनहुँको बन्दिपुर गाउँपालिका-३ रामकोटमा आइतबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मंसिर ४ गतेपछि पनि अहिलेकै गठबन्धनले निरन्तरता पाउने बताए ।
‘चुनावपछि पनि मिलेर गठबन्धनको सरकार बनाउँछौ, गठबन्धनले मिलेर देश विकास गर्छ’, पौडेलले भने, ‘संविधानको रक्षाका साथै विकास निर्माणमा गठबन्धन प्रतिबद्ध छ ।’ संविधानले प्रत्याभूत गरेको अधिकार रक्षाका लागि गठबन्धन बनेको बताउँदै पौडेलले गाउँगाउँमा जनताले पाएको अधिकार रक्षा गरिने दाबी गरे ।
देशमा लगानी भिर्त्याएर उद्योग कलकारखाना स्थापना गर्ने र युवालाई स्वदेशमै रोजगारी प्रदान गरिने बताउँदै पौडेल भने, ‘उद्योगधन्दा खोलेर युवालाई विदेश जान नपर्ने बनाउँछौं ।’ वाम-लोकतान्त्रिक गठबन्धनका तर्फाट तनहुँ १ प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमानले यस क्षेत्रका जनताका समस्याबारे आफूहरु जानकार रहेको भन्दै समस्या समाधानमा क्रियाशील हुने बताए ।










