निर्वाचन कार्यक्रम अन्तर्गत तनहुँमा मतदानको नमूना अभ्यास
भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै तनहुँमा निर्वाचन लक्षित कार्यक्रम तीब्र बनाइएको छ । उम्मेदवारहरु यतिबेला मतदाताको घरदैलोमा पुगेका छन् । निर्वाचन कार्यालय तथा मुख्य निर्वाचनको कार्यालय र अन्य सरोकारवाला निकायहरु पनि निर्वाचनको आवश्यक तयारीमा जुटेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँका दुइ वटै निर्वाचन क्षेत्रमा आवश्यक तयारी तीब्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय पालिकाहरुसंग समन्वय गरी मतदाता शिक्षा तथा नमूना मतदान कार्यलाई अगाडि बढाएको छ ।
जिल्लाको देवघाट, आँवुखैरेनी, बन्दिपुर, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा मतदानको नमूना अभ्यास गरिएको छ । सर्वसाधारणलाई मतदान गर्ने प्रक्रिया सिकाउन र बदर मत न्यूनीकरण गर्ने उद्देश्यसहित गरिएका ती नमूना मतदानमा लक्षित वर्ग सहभागि हुन सकेका छैनन् ।
तनहुँको दमौलीस्थित खुल्लामैदानमा बुधबार गरिएको नमूना मतदानमा शिक्षित वर्गको नै सहभागिता रह्यो । नमूना मतदानको मुख्य उद्देश्य मतदान प्रक्रियाबारे कम जानकारी भएका सर्वसाधारणलाई मतदान गर्ने तरिकाबारे सिकाउनु पर्ने भएपनि त्यो हुन नसकेको व्यास-४ का ज्येष्ठ नागरिक देवनिधी पन्थ बताउँछन् ।
‘नमूना मतदान सर्वसाधारण लक्षित हुनुपर्ने हो’, उनले भने, ‘म जस्तै वृद्धवृद्धा अनि ग्रामीण क्षेत्रका सर्वसाधारणलाई आफ्नो भोट बदर नगरिकन कसरी सुरक्षित रुपमा हाल्ने भन्ने विषयमा सिकाउनुपर्ने हो तर, अहिलेसम्म त्यस्तो हुन सकेको छैन ।’
यस्तै, मतदान स्थललाई अपाङ्गतामैत्री बनाउनु पर्ने मतदानको नमूना अभ्यासमा ह्विलचियरमा सहभागि भएकी अपाङ्गता भएकी व्यास नगरपालिकाकी कर्मचारी कृष्ण थापा बताउँछिन् । उनले भनिन्, ‘हामी अपाङ्गता भएका व्यक्तिहरु आफ्नो मत सुरक्षित रुपमा हामी आफै आफुले चाहेको उम्मेदवारलाई दिन चाहन्छौ । त्यसको माग पनि हामीले गर्दै आएका छौं, मंसिर ४ गते हुने निर्वाचनमा मतदान केन्द्रहरु अपाङ्गतामैत्री बनाइदिए हुने थियो ।’
यस्तै, मतदातालाई मतदान प्रक्रियाका विषयमा आवश्यक जानकारी गराउनुपर्नेमा त्यो नभएको सहभागिहरुले बताएका छन् । निर्वाचन आयोग, राजनीतिक दल तथा उम्मेदवारहरुले पनि भोट हाल्नुपर्छ मात्र भन्ने तर के कसरी मतदान गर्ने भन्ने विषयमा बुझाउन नसकेको व्यास-५ की ५१ वर्षीया बसुन्धरा आचार्य बताउँछिन् ।
व्यक्तिगत कामले नगरपालिका आएकी आचार्यलाई नगरपालिकाकै कर्मचारीले नमूना मतदान हुँदै छ सहभागी हुनुहै भनेपछि उनी नमूना मतदान स्थलमा पुगेकी थिइन् । नमूना मतदान गरेपछि आचार्यले भनिन्, ‘मलाई मत कहाँ र कसरी हाल्ने भन्ने थाहा छ । यहाँका सहभागी भन्दा पनि ग्रामीण क्षेत्रका र नयाँ मतदातालाई नमूना मतदानमा सहभागी गराउन सकिन्थ्यो भने अझ प्रभावकारी हुने थियो ।’
सदरमुकाम केन्द्रित र अधिकांश कार्यालयका प्रमुख र कर्मचारीको मतदानमा सक्किएको नमूना मतदान कार्यक्रम औपचारिक्तामै सिमित रहेको व्यास-१ का नारायण रानाभाटले बताए । उनले भने, ‘शिक्षित वर्गाबिच गरिएको यो नमूना मतदान देखाउनका लागि मात्रै गरिएको जस्तो भयो । मत कहाँ र कसरी दिने भनि अन्यौलमा रहेका ग्रामीण तथा सहरी क्षेत्रकै मतदातालाई पनि यसले समेट्न सकेन ।’
‘अहिले ग्रामीण क्षेत्रका किसानलाई धान थन्काउने चटारोले खेतबारीमै अधिकांश समय बिताउने गरेका छन् । मतदान शिक्षा दिन घरघरमा पुगेकाहरु खेतबारीमै पुगी किसानलाई कसरी मतदान गर्ने भनि पक्कै सिकाउन भ्याएका छैनन्’, उनले भने, ‘पटकपटक मतदान गरेपनि अन्जानमा मत बिगार्ने धेरै मतदाता हुनुहुन्छ । यस्ता मतदातालाई संकलन गरी नमूना मतदानमा सहभागी गराउन सकियो भने बल्ल नमूना मतदान प्रभावकारी हुने थियो ।’
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चार वटा मतपत्र हुनेहुँदा सर्वसाधारण अलमलिन सक्ने भएकाले त्यसबारे जानकारी दिन नमूना मतदान गरिएपनि कार्यक्रममा अधिकांश टाठाबाठा मात्रै सहभागी भएका थिए । नमूना मतदान अभ्यास कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, पालिकाका कर्मचारी, वडाध्यक्ष, सदस्य, पत्रकार लगायतको सहभागिता थियो ।
सर्वसाधारणलाई मतदान गर्ने प्रक्रिया सिकाउन र बदर मत न्यूनीकरण गर्ने गरी लक्षित वर्गलाई सहभागि गराइ नमूना अभ्यास गर्नुपर्नेमा त्यो हुन नसकेको मुख्य निर्वाचन अधिकृत दल बहादुर केसीले बताए । नमूना मतदान कार्यको शुभारम्भ गर्दै मुख्य निर्वाचन अधिकृत केसीले निर्वाचनको आवश्यक तयारीमा जुटेको बताए । जिल्लामा आवश्यक मतपत्र आइसकेको र निर्वाचनमा खट्टनिे मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा आवश्यक कर्मचारी पनि छनौट गरी तालिम सञ्चालन गर्ने तयारी गरिएको छ ।
यस्तै, तनहुँमा निर्वाचन लक्षित सुरक्षा व्यवस्था पनि कडा बनाउँदै लगिएको छ । १४२ वटा मतदान स्थललाई तीन वर्गमा वर्गीकरण गरी आवश्यक सुरक्षा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।
प्रजिअ अर्यालका अनुसार तनहुँका ६ वटा मतदान स्थल अतिसंवेदनशिल, ५२ वटा मतदान स्थल संवेदनशिल र ८४ वटा मतदान स्थललाई सामान्यमा वर्गीकरण गरिएको छ । निर्वाचनका लागि ३३३ जना सशस्त्र प्रहरी, ४८६ जना नेपाली सेना, ७७८ जना नेपाल प्रहरी र १ हजार ३९२ जना म्यादी प्रहरी खटाइएको छ ।
यस्तै, तनहुँको निर्वाचन क्षेत्र नं. १ मा १ लाख २३ हजार ४९० र निर्वाचन क्षेत्र नं. २ मा १ लाख २५ हजार ५ जना गरी २ लाख ४८ हजार ४९५ जना मतदाता रहेका छन् । क्षेत्र नं. १ मा ६९ मतदान स्थलमा १५२ वटा मतदान केन्द्र कायम गरिएको छ भने क्षेत्र नं. २ का ७३ मतदान स्थलमा १५३ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए ।
तनहुँमा जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनले मंसिर ४ गतेको निर्वाचनलाई भयरहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा जुटेका छन् । यता राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु पनि आ-आफ्नो पक्षमा भोट माग्दै मतदाताको घरदैलो, खेतबारी पुगेका छन् ।










