एमालेका उम्मेदवार गुरुङ भन्छन : “जनताको विकासको चाहानालाई पुरा गर्छु”
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले आफ्नो पहिलो प्राथमिकता विकास निर्माण रहेको बताएका छन् ।
कातिक १७ देखि मतदाताको घरदैलो औपचारिक रुपमा पुग्न शुरु गरेका नेता गुरुङले तनहुँ २ निर्वाचन क्षेत्रका अधिकांश वडामा पुगिसेका छन् । यस क्षेत्रमा शुक्लागण्डकी, भिमाद, म्याग्दे, व्यास, रिसिङ र घिरिङका ४३ वडा पर्दछन् ।
चुनावी अभियान अन्तर्गत मंगलबार घिरिङ गाउँपालिकाका विभिन्न क्षेत्रमा पुगेका नेता गुरुङले भने, ‘यहाँहरुले विकास निर्माणको विषयमा देखाउनुभएको चासोलाई सम्मान गर्छु । अर्थमन्त्री र प्रदेश सभा सदस्य हुँदा धेरै काम शुरु गरेका थियौं । अधुरा कार्य र नयाँ योजना पुरा गर्नेछु ।’
उनले वर्षौसम्म हिलाम्मे र धुलाम्मे रहेको भिमाद-भिरकोट जोड्ने श्रृंगपथ आफू प्रदेश सभा निर्वाचित भएर आएपछि काम भएको स्मरण गराए । ‘घिरिङ आउनै मुस्किल थियो। विभिन्न कारणले सडक अलपत्र अवस्थामा थियो’, उनले भने, ‘निर्माण व्यवसायीलाई बारम्बार ताकेता र ध्यानाकर्षण गराएपछि यत्तिको अवस्थामा आएको हो ।’
सो अवसरमा उनले अधुरा योजना पुरा गर्ने योजनाका साथ मतदाताकोबीचमा आएको प्रष्ट पारे । उनले एमाले नेतृत्वको सरकाले गाईघाट-ऋषिङ-चापाकोट गल्याङ रणनीतिक सडकलाई प्राथमिकतामा राखेको स्मरण गरे । साथै मानपुर-डेढगाउँ र मानपुर-बैडी सडकखण्ड कालोपत्रे हुने जानकारी दिए ।
यस्तै, तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरी विकास निर्माण कार्य अघि बढ्ने बताए । उम्मेदवार गुरुङ र सिग्देलसहितका नेताहरु मंगलवार घिरिङ-१ को कटहर, वडा नं. २ को गजरकोट, काठेकोट, माहुरकोट, भुबरकोट, कोलाडाडा, सुनपानी, वाकथोक, डाडाथोक, पोखरीछाप, नेवापनि लगायतका क्षेत्रमा पुगेका थिए ।










