महिलाहरुलाई नेतृत्व विकास र सामाजिक सुधार तालिम
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिक-१० स्थित अंधेरीभञ्ज्याङका दलित महिला सहितका स्थानीयलाई नेतृत्व विकास र सामाजिक सुधार तालिम प्रदान गरिएको छ ।
स्थानीयलाई नेतृत्व गर्ने तहसम्म पुर्याउने सोंचका साथ गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहयोग र परिवर्तनका लागि मिडियाको आयोजनामा दुइदिने तालिम प्रदान गरिएको हो ।
तालिममा सहभागीलाई नेतृत्व तहमा पुग्नको लागि विकृति र विसंगतिलाई हटाउनुपर्ने, लगायत सार्वजनिक सम्पदाको संरक्षण र समाजमा आपसी भाइचारा कायम गर्नुपर्ने, वालवालिकालाई शिक्षाबाट बन्चित गर्न नहुने र बढ्दो मोवाइलको प्रयोगसँगै वालवालिकामा देखिएको नकारात्मक समस्या लगायतको विषयमा सहजिकरण गरिएको थियो।
करिव ३५ जना दलित महिला सहित कुमाल र दरै महिला समेत गरी करिव ५५ जना सहभागिलाई कृष्ण रुचाल र पूर्ण विकेले सहजिकरण गरेका थिए ।
यस्तै, तालिम कार्यक्रमको समापन गर्दै व्यास नगरपालिका-१० का अध्यक्ष खेमराज पोखरेलले तालिमलाई व्यवहारिक प्रयोग गर्ने गरी लाभ लिन सहभागीलाई आग्रह गरे । अध्यक्ष पोखरेलले तालिममा सिकेको सिपलाई व्यवहारमा प्रयोग नगरे स्वयं आफैं पछि पर्ने बताए।
निर्वाचनको बेला दलितहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने र निर्वाचन सकिएपछि दलितहरुलाई वेवास्ता गर्ने प्रचलन बढ्दै गएको चर्चा गर्दै दलितहरुको क्षमता अभिवृद्धि र संरक्षण गर्ने दायित्व राज्यको रहेको वक्ताहरुले बताएका थिए ।
तालिमबाट आफूहरुले सरसफाई र आचरणमा सुधार गर्नुपर्ने र नेतृत्व प्राप्तिको लागि स्वयं आफूहरु नै सकृय रहनुपर्ने बारे जानकारी पाएको तालिममा सहभागी धैरेनीअँधेरीभञ्ज्याङ टोल विकास संस्थाका सचिव चिजबहादुर विकले बताए ।
तालिमपछि आफूहरुले वालवालिकालाई कुटपिट गर्न नहुने र मोवाइल लगायतको खेलौना दिन नहुने बारे जानकारी पाएको स्थानीय फुलमाया परियारले बताईन् ।










