संसद्मा देखिएको बेग्लै परिदृश्य

अशोक घिमिरे/सिबी अधिकारी

सङ्घीय संसद्को आइतबार अपराह्नदेखि सुरु भएको वर्षेे अधिवेशनको बैठकको पहिलो दिन बेग्लै परिदृश्य देखियो । निर्धारित समय ४ बजेभन्दा १५ मिनेट ढिला गरी सुरु भएको बैठकको सुरुमै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आकस्मिक समय लिएर बोल्ने अनुमति माग्नुभयो । लगत्तै स्वतन्त्र सांसद अमेरशकुमार सिंहले उभिएर केही भन्न खोज्दै हुनुहुन्थ्यो । त्यही बीचमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले पनि बोल्नका लागि सभामुखतिर इसारा गर्नुभयो ।

यसरी उठेर बोल्न चाहने सांसदको सङ्ख्या बाक्लो भएपछि सभामुखले पटक–पटक बैठक सञ्चालनका लागि सहजीकरण गरिदिन सांसदहरुलाई आग्रह गर्नुभयो । “माननीय सदस्यहरु दोस्रो अधिवेशनको पहिलो बैठक सुरु भइरहेको छ, यसका केही नियम र पद्धतिहरु छन् यसलाई पूरा गरेपछि बोल्नुहोला, पहिलो बैठक औपचारिक सुरु हुन दिनूस् बाँकी के कसरी चलाउने हो सल्लाह गरेर गरुँला”, सभामुख घिमिरेले भन्नुभयो ।

सभामुखले उठेका सांसदलाई बसेर बैठक सुरु हुने वातावरण बनाउन अनुरोध गर्नुभयो । तर, सभामुखको आग्रहलाई बेवास्ता गर्दै केही सांसदहरुले निरन्तर बोल्नका लागि उभिएर सङ्केत गरिरहनुभयो । “संसद्को कारबाही सुरु गरेपछि आफ्नो कुरा राख्नुहोला म बोल्नका लागि समय निर्धारण गर्नेछु; यस्तो साङ्केतिक जुहारी करिब १० मिनेट चलेपछि सभामुखले बैठक प्रारम्भ भएको घोषणा गर्दै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुभयो । त्यसपछि बैठकमा लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि जीवन अर्पण गर्ने ज्ञात अज्ञात शहीदहरुप्रति बैठकले १ मिनेट मौनधारण गरियो ।

बैठकमा पहिलो वक्ताका रुपमा सांसद प्रेम सुवालले भूटानी शरणार्थीका विषयमा दोषीलाई कानुनी दायरामा ल्याउनेदेखि नागरिकता र खोप इञ्जिनियरिङ कलेजको विषय उठाउनुभयो । सांसद अमरेशकुमार सिंहले सर्वदलीय भ्रष्टाचार हुने गरेको आरोप लगाउँदै पछिल्लो भूटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गर्नुभयो । सबै भ्रष्टाचारको उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कानुनी दायरामा ल्याउन उहाँले माग गर्नुभयो ।

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भ्रष्टाचारका सवालमा ‘यो टेलर मात्रै हो फिल्म देखाउन बाँकी नै छ’ भन्ने विषयको प्रसङ्ग उल्लेख गर्दै मुलुकमा भएका सबै किसिमका भ्रष्टाचार र अनियमितताप्रति आफ्नो पार्टी एकताबद्धका साथ दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । “हामी फिल्म हेर्न टिकट काटेर बसेका छौँ फिल्म देखाउनूस् वाइडबडी, यतिलगायत सबै काण्डको छानबिन गरियोस्”, उहाँले भन्नुभयो ।

एमालेकै सचेतक महेशकुमार बर्तौलाले यतिबेला सिङ्गो देशको ध्यान नेपालीलाई भूटानी शरणार्थी बनाएर अर्बौ घोटला गर्ने र दोषीलाई उम्काउने खेल भइरहेको भन्दै यस्ता घटनाको सत्यपक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

एमाले सांसद सूर्य थापाले भ्रष्टाचारको फिल्म हेर्न आफू पनि तयार रहेको बताउनुभयो । त्यसपछि सांसद बोलिसकेपछि पुनः सभामुखले सांसदलाई बस्न र नियम पालना गर्न अनुरोध गर्नुभयो ।

जवाफमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रतिपक्षी दलका सांसदहरुले छापामार शैलीमा आफ्ना कुरा राखेको भन्दै प्रमुख प्रतिपक्ष साँच्चिकै भ्रष्टाचारीलाई कारबाही गर्न चाहेको हो भने इमान्दार हुन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्रीले राखेका कुरा खिसिटिउरी गरिरहनुले विषयलाई विषयान्तर गर्ने र खिसिटिउरी गरिरहेको भन्दै इमान्दारीपूर्वक रायामाझीलाई पक्राउ गर्न सहयोग गरेको खण्डमा काफी हुने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘नेपालको राजनीतिमा जो बढी बदमास त्यही बढी डकार्छ’ भन्दै भ्रष्टाचार र अनियमिततामा दोषी जोकोहीलाई संसदीय समिति बनाएर कारबाही गर्न माग गर्नुभयो । एमाले सांसद रघुजी पन्तले आरोप–प्रत्यारोप चलेको भन्दै पार्टी संविधान र कानुनको पालनामा प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचारीलाई उम्कन दिन नहुने बताउनुभयो ।

कांग्रेसका सांसद सुनील शर्मा भूटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराउनुभयो । सांसद सरिता प्रसाईं भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्नु हुन्न, निर्दोष उम्कनु हुन्न । सांसद रञ्जुकुमारी झाले भ्रष्ट्राचारको मामिलामा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताउनुभयो । उहाँले नागरिकतासम्बन्धी आम नेपालीको समस्या भएकाले यसमा राजनीति नगरी संविधान र कानुनसम्मत ढङ्गले अघि बढाएर पीडित जनतालाई न्याय दिनुपर्ने औँल्याउनुभयो ।

सांसद आरजु राणाले आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टीकाटिप्पणी भइरहेको बताउनुभयो । उहाँले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गर्नुभयो । सांसद हरि ढकालले विगत ३३ वर्षमा धेरै भ्रष्टाचारका काण्ड भएको भन्दै आयोग बनाएर भ्रष्टाचारीको छानबिन हुनुपर्ने माग गर्नुभयो । उहाँले सरकारले भूटानी शरणार्थीसम्बन्धी छानबिन गर्ने तदारुकता देखाएकोप्रति धन्यवाद ज्ञापन पनि गर्नुभयो । सांसद मेटमणि चौधरीले तत्कालीन गृहसचिव, मन्त्री र उच्चपदस्थ अधिकारी भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको खुल्दै गएकाले यो कार्यमा संलग्न सरकार प्रमुखलाई समेत कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

सांसद दीपकबहादुर सिंहले सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढङ्गले उठाउन नसकेको बताउनुभयो । सांसदहरुले आकस्मिक समयमा समसामयिक विषयमा समधारणा राखिसकेपछि बैठक कार्यसूचीमा प्रवेश गरेको थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker