आँबुखैरेनीको आमडाँडामा झोलुङ्गे पुल निर्माण, एक हजार बढी जनसंख्या लाभान्वित
भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित आमडाँडा खस्राङ स्थित आँधीखोला (घर्तीदोभान)मा झोलुङ्गे पुल निर्माण गरिएको छ । उक्त पुल निर्माणसंगै स्थानीयलाई आवातजावतमा सहज भएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मंगलबार एक कार्यक्रमका बीच पुल उद्घाटन गर्दै पुलको उपयोग र संरक्षणमा स्थानीय उपभोक्ता जागरुक बन्नुपर्ने बताए । कादूरी एग्रिकल्चरल एड एशोसिएशन ब्रिटिस गोर्खाज नेपालको ७७ लाख ११ हजार ५१९ रुपैयाँ र उपभोक्ताहरुको तर्फबाट एक लाख ५३ हजार रुपैयाँ श्रमदान गरी कूल ७८ लाख ६४ हजार ५१९ रुपैयाँको लागतमा पुल निर्माण गरिएको बताइएको छ ।
विसं २०७७ असोज १५ सर्वेक्षण गरी २०७९ कार्तिक १७ मा योजनाको निर्माण कार्य शुरु गरी २०७९ फागुन १८ गते सम्पन्न भएको आँधीखोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष इनबहादुर गुरुङले बताए । ८६ मीटर लम्बाइको उक्त पुल निर्माण पश्चात यस क्षेत्रका करिब एक हजार जनसंख्या लाभान्वित हुने अध्यक्ष गुरुङले बताए । उक्त स्थानमा पुल नहुँदा सर्वसाधारणहरुले सास्ति झेल्दै आउनुपरेको थियो ।










