नीति तथा कार्यक्रम : गण्डकीका विभिन्न योजना समावेश

सङ्घीय सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा गण्डकी प्रदेशभित्र सञ्चालन गरिने योजनासमेत समेटिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा वर्षौंदेखि बन्द अवस्थामा रहेको यहाँको गोरखकाली रबर उद्योग सञ्चालनदेखि जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइनेसम्म उल्लेख छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना सरकारले आफ्नै लगानीमा बनाउने घोषणा यसअघि नै गरेको थियो । गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी नदीमा बन्ने एक हजार दुई सय मेगावाटको उक्त आयोजना वर्षौंदेखि अन्यौलमा रहँदै आएको थियो ।

संसद्मा सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखानासँगै गोरखामा रहेको गोरखकाली रबर उद्योग पनि पुनःसञ्चालनमा ल्याइने उल्लेख गर्नुभएको थियो । गोरखाको मजुवा देउरालीमा रहेको सो उद्योग विसं २०७१ देखि पूर्णरुपमा बन्द छ । विसं २०४९ देखि उत्पादन थालेको गोरखकाली रबर उद्योग नेपालको एकमात्र टायर उद्योग हो ।

लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन, खारेजी, एकीकरण वा व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समितिसमेत गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गोरखामै उपयुक्त स्थान पहिचान गरेर नेपालका सम्पूर्ण जातजातिको संस्कृति र पहिचान झल्कने गरी सङ्ग्रहालयका निर्माणको प्रक्रिया अगाडि बढाइने भएको छ ।

पोखरासहित प्रमुख सहरमा भूमिगत विद्युत् वितरण प्रणालीलाई विस्तार गरिने जनाइएको छ । पोखरामा विद्युतीय तार भूमिगत गर्ने परियोजना गत महिनादेखि सुरु भइसकेको छ । गण्डकी जलाधार क्षेत्रमा पर्ने जलाधारीय स्रोतको दिगो व्यवस्थापन गर्दै जलवायु परिवर्तनको अनुकूलन क्षमता अभिवृद्धि गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker