भानु जयन्तीको अवसरमा सर्वाधिक पुरस्कार राशीको भानु कप फुटबल प्रतियोगिता हुने
भञ्ज्याङ न्यूज

२१०औं भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका-१ भन्सारको भानु रंगशालामा भानु कप फुटबल प्रतियोगिता गरिने भएको छ । भन्सार युवा परिवार, भिमसेन युवा क्लब र साल्बिस्ने युवा क्लबले संयुक्त रुपमा १६औं संस्करणको राष्ट्रिय ९ए साइड खुल्ला नक आट भानु कप फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
सर्वाधिक पुरस्कार राशीको उक्त फुटबल प्रतियोगिता असार २९ गतेबाट साउन ६ गतेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ । भानु जयन्तीका अवसरमा आयोजित फुटबाल प्रतियोगिताका साथै विविध खेलकुद कार्यक्रमहरु पनि सञ्चालन हुने भन्सार युवा परिवारका सदस्य सन्दिप श्रेष्ठले बताए ।
उक्त फुटबल प्रतियोगिताको प्रथमलाई २ लाख २५ हजार २१०, द्धितीयलाई १ लाख १२ हजार २१० र तृतीय स्थानका लागि प्रतिस्पर्धा गर्ने दुबै टिमलाई २० हजार २१० रुपैयाँ नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार २१० रुपैयाँ, उत्कृष्ट गोल किप्परलाई ५ हजार २१० रुपैयाँ र र्सबाधिक गोल कर्तालाई ५ हजार २१० रुपैयाँ नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा अनुशासित टिमलाई उचित पुरस्कार साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको उपाधि समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
भानु जयन्तीका अवसरमा छेलो र बाघचाल प्रतियोगिता समेत गरिने भएको छ । छेलो र बाघचाल तर्फप्रथम हुनेलाई ५ हजार २१० रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
छेलो र बाघचाल प्रतियोगिताको टिम दर्ता शुल्क २१० रुपैयाँ छ भने फुटबल प्रतियोगिताको टिम दर्ता शुल्क १० हजार २१० र थप २ हजार अन्य शुल्क लाग्ने सदस्य श्रेष्ठले बताए । प्रतियोगितामा सहभागिताका लागि असार १५ देखि २७ गतेसम्म भन्सार चोकमा रहेको आयोजकको सचिवालयमा टिम दर्ता गर्नुपर्ने बताइएको छ ।










